Ads

Sunday, March 12, 2017

केटाकेटीलाई चकलेट बाँडेजस्तै विदेशी नागरिकलाई नागरिकता बाँड्न सकिँदैन : ओली

Posted By: Samsung - 8:23 PM



भैरहवा – एमाले अध्यक्ष केपी ओलीले केटाकेटीलाई चकलेट बाँडेजस्तै विदेशी नागरिकलाई नागरिकता बाँड्न नसकिने बताएका छन् । मेची–महाकाली अभियानअन्तर्गत आइतबार भैरहवाको अञ्चलापुरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् । ‘उहिले–उहिले रानीको जन्मदिनमा केटाकेटी जम्मा पारेर चकलेट बाँडिन्थ्यो । नागरिकता त्यसरी सीमामा अरू देशका मानिस जम्मा गरेर बाँड्न सकिन्न,’ ओलीले भने, ‘१३ जना बुहारी नेपालको सांसद हुनुहुन्छ, एकजना बुहारी त मन्त्री हुनुहुन्छ, कांग्रेसको ठूलै नेता हुनुहुन्छ, ज्वाइँहरूको त कुरै नगरौँ । मन्त्री हुन पाँच वर्ष पनि पुग्नु नपर्ने प्रस्ताव मानिन्न ।’ नेपाली चेलीले भारतमा बिहे गरेमा सात वर्ष कुर्नुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै ओलीले बिहे गरेकै भोलिपल्ट कोही पनि विदेशीलाई नागरिकता बाँड्न नसकिने स्पष्ट पारे । आजको नयाँ पत्रिकामा खबर छ ।
संशाेधन प्रस्ताव कुनै हालतमा पारित हुँदैन
नेपाललाई कमजोर पार्ने षड्यन्त्रअन्तर्गत संविधान संशोधन प्रस्ताव अघि बढाइएको दाबी गर्दै ओलीले कुनै हालतमा पारित हुन नदिइने समेत स्पष्ट पारे । ‘संविधान संशोधनको प्रस्ताव देशहित र जनताका विरुद्धमा छ । सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको छ । तर, यो सरकार नेपाली नागरिकको होइन, अरूकै कुरा सुन्छ । म स्पष्ट पार्न चाहन्छु, एमालेले यो प्रस्ताव कुनै हालतमा पारित हुन दिँदैन,’ ओलीले भने ।
तराई र पहाडलाई अलग गर्ने षड्यन्त्र
ओलीले किस्ता–किस्तामा तराई र पहाडलाई अलग गर्ने षड्यन्त्र भइरहेको दाबी गरे । ‘संविधान संशोधन प्रस्तावले सबैभन्दा पहिला ५ नम्बर प्रदेशलाई टोक्न खोज्यो, त्यसपछि बाँकीलाई पनि यसरी नै टोक्ने योजना छ । ५ नम्बरका जनताले त्यसलाई अस्वीकार गरिदिएका छन्,’ उनले भने । वर्तमान सरकारले मुलुकको हितमा काम गर्न नसकेको आरोप लगाउँदै उनले राष्ट्रियताका विषयमा अडान राख्न नसक्ने सरकार कुर्सीमा बस्नुको कुनै औचित्य नहुने दाबी पनि गरे ।

Loading...

एमाले मधेस पस्दा समाप्त हुने भयले मधेसी मोर्चाले अवरोध गरेको उनको आरोप छ । ‘एमालेले बोकेका नीतिहरू मधेसका जनताले थाहा पाए भने आफ्नो सटर बन्द हुन्छ भनेर मोर्चाका नेताहरू छट्पटिएका छन् । उनीहरूलाई देशको झन्डा र नाम नै मन पर्दैन,’ ओलीले भने, ‘विगतको संविधानसभामा तिनीहरूले यो कुरा उठाएका थिए । अहिले जनताले दण्डित गरेका छन्, हराइदिएका छन् ।’
सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हातमा पूरा नहुने बताए । ‘अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ । ठीकै छ, त्यो सफल पनि होला तर यो देश असफल हुन सक्दैन, हुन दिइँदैन,’ उनले भने । सभालाई नेताहरू दलबहादुर राना र रघुवीर महासेठले पनि सम्बोधन गरेका थिए ।
विरोधमा बासामा कालो झन्डा
अभियानको विरोधमा जिल्लाको बासामा मधेसी मोर्चाका केही कार्यकर्ताले कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका थिए । एमाले अभियानलाई बिथोल्न मोर्चाले आइतबार परासी क्षेत्र बन्द आह्वान गरे पनि बन्दको प्रभाव भने खासै परेन ।
सुण्ड–मुसुण्डलाई जनताले तह लगाउँछन् : खनाल
नवलपरासी – एमाले वरिष्ठ नेता झलनाथ खनालले मधेसमा बलियो भएकै कारण आफ्नो पार्टीमाथि आक्रमणको प्रयास भएको बताएका छन् । मेची–महाकाली अभियानअन्तर्गत आइतबार नवलपरासीको भूमहीमा आयोजित सभालाई सम्बोधन गर्दै खनालले त्यस्तो बताएका हुन् । ‘त्यो पराजित मानसिकताको उपज हो । हामी यसको बदला निर्वाचनका माध्यमबाट लिन्छौँ, जनताले यसको फैसला गर्नेछन् । मधेसी मोर्चाका नाममा अगाडि आएका सुण्डमुसुण्डलाई जनताले तह लगाउनेछन्,’ खनालले भने ।

Loading...
@osnepal

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy