Ads

Saturday, December 24, 2016

खाली खुट्टा दौडिने बर्दियाकी धाविका जयरानी भन्छिन्- जुत्ता लगाउने बानी नै छैन

Posted By: Samsung - 8:17 PM

१० पुस, बिराटनगर । सातौं राष्ट्रिय खेलकुदको १०० मिटर दौडको फाइनल स्पर्धामा पूर्वओलम्पियन चन्द्रकला थापा नेपाल प्रहरीको तर्फबाट प्रतिस्पर्धा गर्दैगर्दा उनको देब्रेपट्टीको लेनमा एकजना धाविका खाली खुट्टा दौडिने तयारीमा थिइन् ।
राष्ट्रिय खेलकुदमा टोलीहरुबीचको असमानता र खेलाडीबीचको अन्तर प्रष्टै देखिन्थ्यो । इटहरीको रंगशालामा हतार हतार बनाइएको ट्रयाकमा साना ढुंगादेखि लिएर सुर्तीका प्याकेटसम्म देखिन्थे । उवडखावड ट्रयाकलाई हेरेर खेलका निर्णायकहरु आफैं भनिरहेका थिए, यसपालि दौडमा कीर्तिमान बन्न गाह्रो छ ।
तर बर्दियाकी जयरानी चौधरीलाई खालीखुट्टा दौडिनबाट यो ट्रयाकको अवस्थाले पनि रोक्न सकेन । न त उनलाई रोक्न सके प्रतियोगिताका आयोजकले । जसलाई थाहा छ कि, यस्तो ट्रयाकमा खालीखुट्टा दौडँदा चोट लाग्न सक्ने सम्भावना प्रबल हुन्छ ।
पहिलोपटक बर्दिया जिल्लाबाट बाहिर निस्किएकी जयरानीले देश बिदेश डुलेर ओलम्पिकमा समेत नेपालको प्रतिनिधित्व गरिसकेकी चन्द्रकला थापाभन्दा मात्रै आधा सेकेण्ड भन्दा पनि कम (०.२८ सेकेण्ड) समयमा दूरी पूरा गरिन् ।
अर्को राष्ट्रिय खेलकुदमा उनलाई देख्न पाइने नपाइने निश्चित छैन । तर, उनी भन्छिन्, राम्रो प्रशिक्षण पाएँ भने अर्को राष्ट्रियमा मेडल अवश्य ल्याउनेछु ।
यिनै चौधरीसँग अनलाइनखबरका लागि अभयराज जोशी र कुशल तिमल्सिनाले गरेको कुराकानी ।
तपाईंको घर कहाँ हो ?
मेरो नाम जयरानी चौधरी । घर, मध्यपश्चिमाञ्चलको बर्दिया । खासमा मेरो घर बर्दियाको ओराली बजार हो । त्यहाँ मेरो परिवार छ, म भने सदरमुकाम गुलरियामा बस्छु । होस्टेलमा बसेर पढ्दैछु ।
कति बर्षकी हुनुभयो ? एसएलसी दिनुभयो ?
नाई, सात कक्षामा पढ्दैछु । यो माघमा १६ लाग्छु ।
मध्यपश्चिमाञ्चलको टोलीमा कसरी पर्नुभयो ?
मैले स्कुलमा खेल्थेँ । राम्रो खेलेको देखेपछि स्कुलले नै जिल्लामा खेल्न पठाएको हो ।
तपाईको गाउँमा चाहिँ कुन कुन खेल खेलिन्छ ?
सबै खेल खेल्छन्, एथ्लेटिक्स खेल्छन्, भलिवल, फुटबल खेल्छन् ।
तपाईको परिवारका अरु सदस्य पनि खेलकुदमा हुनुहुन्छ ?
नाई, परिवारबाट खेलकुदमा लाग्ने म नै पहिलो हुँ ।
गाउँमा कुन स्कुलमा पढ्नुहुन्थ्यो ?
म मञ्जुश्री निमावि बर्दियामा पढ्थेँ, अहिले सदरमुकामको स्कुलमा पढ्दैछु ।
राष्ट्रियमा आउनुभन्दा अघि जिल्ला तथा क्षेत्रीयमा कसरी छनौट हुनुभयो ?
मंसिर २४ गतेबाट सुरु भएको क्षेत्रीय छनौट प्रतियोगिता जितेर म मंसिर २८ गते छनौट भएको हुँ ।
यो भन्दाअघि इटहरी आउनुभएको थियो ?
नाई । मैले गाउँबाट बाहिर निस्केकै यो तेस्रो पटक हो । सरुमा स्कुलका लागि, त्यसपछि क्षेत्रीय छनौटका लागि र अहिले ।
jayrani-tharu-100mrunn-1
जयरानी चौधरी (रातो घेरामा)
जिल्लामा सबैलाई हराउनुभयो ?
अँ हराएँ ।
तपाईंको व्यक्तिगत उत्कृष्ट प्रदर्शन कुन हो ?
जिल्लामा पनि १४.०० सेकेण्डमा दूरी पूरा गरेकी थिएँ, यहाँ पनि त्यतिमै पूरा गरेँ होला ।
जिल्लामा पनि जुत्ता नलगाई दौडनुभयो ?
अँ । जुत्ता नलगाई दौडिएँ ।
प्रशिक्षकहरुले सिकाउनुभएन, दौडँदा जुत्ता लगाउनुपर्छ भनेर ?
होइन, म पहिलेदेखि नै जुत्ता नलगाई दौडिन्थेँ । जुत्ता लगाएर दौडने प्राक्टिस छैन, जुत्ता लगाउँदा खुट्टा गरुंगो हुन्छ ।
अघि तपाईं दौडन लाग्दा तपाईसँग पूर्व ओलम्पियनहरु पनि थिए, उनीहरुले दौडनकै लागि बनाइएको जुत्ता लगाएका थिए र प्रशिक्षकहरुले पनि सुरुवात गर्न सहयोग गरिरहेका थिए ।
उनीहरुले जस्तै प्रशिक्षण गर्न पाए मेडल जितिन्थ्यो जस्तो लागेन ?
लाग्छ, अब के गर्ने त नि । गुरुहरुसँग कुरा गर्दा तिमीले ट्रेनिङ लिएकी छैनौ, ट्रेनिङ लिएपछि पदक जित्न सकिन्छ भन्नुहुन्छ ।
यो खेल सकिएपछि घर फर्केर पढाइतिर लाग्नुहुन्छ कि खेललाई नै निरन्तरता दिनुहुन्छ ?
दुबै गर्छु । पढाइसँगै खेललाई पनि निरन्तरता दिन्छु ।
घरमा को-को हुनुहुन्छ ? बुबा आमाले चाहिँ के भन्नुहुन्छ ।
सदरमुकाममा होस्टेलमा बस्ने भएकाले घरमा बुबाआमासँग खासै भेट हुँदैन, माघीजस्तो ठूलो चाडपर्वमा मात्र भेट हुने हो । यहाँ खेल्न आएको पनि फोन गरेर भनेको थिएँ । अब माघमा भएर पाचौं भएर आए भन्नेछु ।
अर्को राष्ट्रियमा तपाईलाई भेट्न सकिन्छ त ?
सायद ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy