१३ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ ।
गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताए । राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ ।
केही दिन अघिदेखिनै नेपाल–भारत सीमानाकामा समेत विशेष निगरानी र कडाइ सुरु गरिएको छ । काठमाडौं उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिएको छ । पन्थीले भने, भ्रमणको विशेष सुरक्षा योजना बनिसकेको छ, त्यसको कार्यान्वयन समेत सुरु भइसकेको छ ।’
उनका अनुसार एकीकृत सुरक्षा योजना अन्तर्गत चारै सुरक्षा निकायलाई परिचालन गरिनेछ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा घेरा बनाइने छ भने राष्ट्रिय अनुसन्धान विभागलाई पनि भ्रमणको क्रममा परिचालन गरिनेछ । राष्ट्रपतिका लागि काठमाडौँसहित उहाँ जाने पोखरा र जनकपुरका लागि जामर सहितको सवारी साधनको व्यवस्था गरिएको छ ।
जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट, डिजिटल डिभाइसलगायतका विद्युतीय माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ ।
राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सिसिटिभीको व्यवस्था गरी नेपाली सेनाको समन्वय केन्द्र र महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सिसिटिभीको माध्यमबाट कार्यक्रम र सवारीको गतिविधि नियाल्ने तयारी गरिएको छ ।
विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाका सबै अङ्गलाई आ–आफ्नो ठाउँमा जिम्मेवारी तोकेर परिचालन गरिने तय भएको छ । भारत र पाकिस्तानबीच अहिले देखिएको चिसोपन र नेपाल–भारत खुला सिमानाका कारण पनि राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा संवेदनशीलता अपानाइएको हो ।
Loading...
भ्रमणको क्रममा मुखर्जीको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ ।
भारतीय राष्ट्रपतिको सुरक्षा गार्डसमेत केही सङ्ख्यामा नेपाल आउने बताइएको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक हेमन्त पालले पोखरा र जनकपुरका लागि आवश्यक सवारीसधान काठमाडौंबाट पठाइन लागेको जानकारी दिए ।
राष्ट्रपतिको सवारी अवधिभर सवारी हुने रुटको सडक पूर्णरुपमा खाली गरिनेछ । राष्ट्रपति मुखर्जी कात्तिक १७ गते काठमाडौं आइ राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रिपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, विभिन्न राजनीतिक पार्टीका नेतासँग भेटवार्ता, काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोह, पशुपतिनाथ मन्दिरको दर्शनलगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ ।
त्यस्तै कात्तिक १९ गते जनकपुर गई जानकी मन्दिरको दर्शन र त्यहाँको नागरिक अभिनन्दन कार्यक्रम छ । पर्यटकीय नगरी पोखरा गई भारतीय सेनाबाट अवकाश प्राप्त गोरखा सैनिकको भेलालाई सम्बोधन गर्ने तथा सोही दिन काठमाडौं आई भारत फर्किने कार्यक्रम छ । रासस
Loading...


0 comments:
Post a Comment