Ads

Tuesday, September 13, 2016

डेटिङ जाने जोडी नक्कली सेनाबाट लुटिए

Posted By: Samsung - 7:07 AM

Loading...


२८ भदौ, काठमाडौं । तपाई कोही केटासाथी वा केटीसाथीलाई लिएर राजधानी आसपासका डाँडामा ‘डेटिङ’ जाने गर्नुभएको छ ? छ भने सतर्क हुनुहोला, तपाई दिउँसै लुटिन सक्नुहुन्छ । लुटेराहरुले तपाईलाई सेना वा प्रहरीको भेषमा झुक्याउन सक्छन् ।
गत साउन २२ गते प्रेमी-प्रेमिकाको एक जोडी नगरकोटको सल्लेरीमा घुम्न गएको थियो । नारिएर हिँडेको त्यो जोडीलाई आफूलाई सैनिक बताउने दुई व्यक्तिले नियन्त्रणमा लिए । आफूहरु नगरकोट ब्यारेकबाट खटिएको भन्दै उनीहरुले त्यो जोडीलाई सार्वजनिक स्थानमा अश्लील हर्कत किन गरेको भन्दै हप्काए ।

Loading...
सेनाको जस्तै बुट लगाएका र कपाल पनि सेनाले जस्तै छोटो बनाएर काटेका उनीहरुले सार्वजनिक स्थानमा यसरी बस्नेलाई त्यसै छाड्न नमिल्ने बताएर तर्साए । नगद जरिवाना तिर्न नसक्ने भए सामान धरौटी राख्नुपर्ने भन्दै उनीहरुले युवायुवतीको मोबाइल र सुनको सिक्री कब्जामा लिएर भने- ‘सामान लिन ब्यारेकमा आउनू ।’
आफ्नो सामान फिर्ता चाहियो भन्दै त्यो जोडी नगरकोट ब्यारेकमा पुग्यो । तबमात्र थाहा भयो कि तिनीहरु त सैनिक नभएर लुटेरा पो रहेछन् । सेनाको नाममा आफूहरु लुटिएको थाहा पाएपछि दुबैजना भोलिपल्ट भक्तपुर प्रहरी परिसरमा उजुरी गर्न पुगे ।
‘डिपोजिट राख्नुपर्ने भन्दै सबै सामान जफत गरेर ब्यारेकमा सम्पर्क गर्न भन्दै एउटा मोबाइल नम्बरसमेत दिएर उनीहरु हिँडेछन्,’ भक्तपुर परिसरकी एसपी किरण बज्राचार्यले भनिन्, ‘आफूलाई नगरकोट ब्यारेकको सेना बताउने ती दुई व्यक्तिले युवायुवती दुबैको मोबाइल, युवतीको सिक्रीसमेत गरेर करिब डेढ लाख मूल्य बराबरको सामान लुटेछन् ।’
एसपी बज्राचार्यका अनुसार सेना भन्दै सम्पर्क गर्न दिएको नम्बरका आधारमा अनुसन्धान गर्दा रसुवाका ग्याल्बो घले र रामेछापका राजकुमार भन्ने अनिल खड्का पक्राउ परेका छन् । पक्राउ परेका घले र खड्काले युवायुवतीबाट लुटेको गहना बालाजु नेपालटारस्थित ओमबीर सुन चाँदी पसलमा लगेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।
युवायुवतीलाई सेना र प्रहरी हुँ भन्दै काठमाडौं र भक्तपुरका चारवटा लुटपाटका घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले दुबैलाई पक्राउ गरेको हो ।
पशुपतिबाट नागार्जुन पुर्‍याएर बलात्कार
उनीहरुले गत साउन १२ गते पशुपतिको वनकालीमा डेटिङमा गएको अर्का एक जोडीलाई पनि त्यसरी नै लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
वनकालीमा डेटिङ गएको जोडीलाई पनि घले र खड्काले आफूहरु प्रहरी भएको भन्दै धम्क्याएका थिए । केटी र केटालाई फरक-फरक ठाउँमा लगेर केटाको मोबाइल लुटेका थिए । तर, युवतीलाई भने घलेले सार्वजनिक स्थानमा अनैतिक काम गरेकाले प्रहरी चौकीमा जानुपर्ने भन्दै हिँडाएर चाबहिलसम्म पुर्‍याएका थिए ।
चाबहिलबाट सार्वजनिक बस चढाएर उनीहरुले बालाजु हुँदै नागार्जुनस्थित मकैबारीमा पुर्‍याएर युवतीलाई बलात्कार गरेको उजुरी बालाजु वृत्तमा दर्ता छ ।
बालाजु वृत्तका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले अनलाइनखबरसँग भने- ‘उनीहरुले बालाजु माछापोखरीबाट चौकी जाने भन्दै युवतीलाई बाइपासबाट हिँडाएरै मुड्खु पुर्‍याएर त्यहाँबाट बयानका लागि भन्दै जंगल नजिकै रहेको मकैबारीमा लगेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको छ ।’
प्रहरी निरीक्षक मगरले भने ‘केटाको तीन हजार रुपैयाँ लुटेर उतै छोडिदिएछन्, युवतीलाई भने नागार्जुनसम्म ल्याएर केश मिलाइदिन्छु भन्दै एकान्त ठाउँमा लगेर बलात्कार गरेको उजुरी परेको छ ।’
प्रहरीको जस्तै ट्रयाक-सुट लगाउने लुटेराहरु बलात्कार गरेर फरार भएपछि युवतीले नजिकैको गाउँमा पुगेर स्थानीयसँग मोबाइल मागेर दाइलाई फोन गरी घटनाबारे जानकारी दिएकी थिइन् ।
सुरुमा युवतीका दाइ-दिदीले घटना लुकाउने प्रयास गरे पनि विमानस्थलमा काम गर्ने मामा पर्नेले घटनाको जानकारी पाएपछि बालाजु बृत्तमा उजुरी गर्न आएको निरीक्षक मगरले बताए ।
नगरकोटमा लुटिएका युवायुवतीको गहना बिक्री भएको पसल खोज्न भक्तपुरबाट बालाजु पुगेको टोलीले दिएको वयान र नागार्जुनमा भएको घटनाको प्रकृति एउटै देखिएपछि दुबै घटना एउटै समूहले गराएको खुलेको प्रहरी अधिकारी बताउँछन् ।
चार जोडीलाई लुटेपछि पक्राऊ
प्रहरीका अनुसार नगरकोटमा भएको घटना घले र खड्काले गराएको चौथो घटना हो । बालाजु बृत्तका निरीक्षक मगरका अनुसार गत वर्ष माघमा पनि यही समूहले नागार्जुनको भ्यु टावरमा प्रहरी हौं भन्दै डेटिङमा पुगेका जोडीको मोबाइल लुटेको उजुरी परेको थियो ।
त्यस्तै गत वैशाखमा पनि सोही भ्यूटावरमा अर्काे जोडी पनि यही समूहबाट लुटिएको बालाजु बृत्तले जनाएको छ ।
भक्तपुर परिसरकी एसपी ब्रजाचार्यका अनुसार युवायुवती डेटिङ जाने स्थानहरु नै ती लुटेराहरुको मुख्य निशानामा पर्ने गरेको पाइएको छ । उनले भनिन्- ‘सैनिक ब्यारेक नजिकैतिर पुगे सेना भन्ने, प्रहरीको आसपास पुगे प्रहरी भन्ने धम्क्याएर लुट्ने यो समूहको शैली हो ।’
आफूलाई सेना वा प्रहरी भन्दै कोही लुटिएको भए उजुरी गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy