Loading...
१२ असोज, पोखरा । पोखरा-१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल, जिल्लास्तरको अस्पतालमा स्तरोन्नती गरिएको छ । हालैमात्र जिल्लास्तरको अस्पतालमा स्तरोन्नती भएको सो अस्पताल सरकारलाई हस्तान्तरण गरिएको अस्पतालको बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।
उद्घाटन अघि राष्ट्रपतिको रोहवरमा अस्पतालका निवर्तमान मेडिकल सुपरिटेण्डेन्ट छममाया पुनले अस्पतालका वर्तमान मेडिकल सुपरिटेण्डेन्ट डा.प्रेमराज पंगेनीलाई अस्पतालको माइन्यूट बुक तथा सम्पतिको सम्पूर्ण विवरण हस्तान्तरण गरेकी थिइन् । स्तरोन्नतीसँगै अस्पताल २५ शैयाको बनेको छ ।
पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको १०औं वर्ष गाँठको अवसरमा २०६९ सालमा अस्पताल स्थापना गरिएको थियो । अस्पताललाई नेपाल सरकारले गत वर्ष असोज २२ गते जिल्लास्तरको २५ शैयाको सरकारी अस्पतालमा स्तरोन्नति गरेको थियो । साविकको बाटुलेचौर स्वास्थ्य चौकी र मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ मन्त्रालय अन्तर्गत सञ्चालन गरिएको हो ।
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीसहित अस्पतालका सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, सदस्य तथा स्थापनाकालीन कर्मचारीहरुलाई सम्मान गरिएको छ । अधिकारी स्वास्थ्य मन्त्री हुँदा उनकै पहल र सहयोगमा अस्पताललाई जिल्लास्तरको अस्पतालमा स्तरोन्नती भएकाले सम्मान गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालले मातृ र शिशु मृत्यूदर घटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘आमा र शिशुलाई अस्पतालले गुणस्तरीय सेवा दिनेमा म विश्वस्त छु, यसले मातृ र शिशु मृत्यूदर घटाउने आशा पनि व्यक्त गर्छु’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीले पोखरालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता गर्ने बेला आएको बताइन् । ‘पोखराको विकासको आधार नै पर्यटन हो’ उनले भनिन्, ‘प्रकृतिले दिएको सुन्दरतालाई जोगाएर पर्यटकीय हब बनाउनतर्फ सबैको ध्यान जान जरुरी छ ।’
सम्मानित व्यक्तित्व पूर्वमन्त्री खगराज अधिकारीले बाल मुत्युदरलाई घटाउनुनै अहिलेको चुनौती रहेको बताए ।कार्यक्रममा नेपालका लागि जापानी राजदुत मासासी ओगावा, जाइका नेपालका महानिर्देशक जुन साकुमा, कोमागाने नगरका मेयर कोजी सुगीमोतोले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।पोखरा उपमहानगरपालिका संरक्षक र कोमागाने नगर सह-संरक्षकत्वमा स्थानीय जनताको सहयोगमा स्थापित अस्पतालले २०६७ साल कार्तिक २३ बाट पोलिक्लिनिकको रुपमा सेवा सुरु गरेको थियो ।
जनस्तरबाट महायज्ञ मार्फत सुरुआत गरिएको अस्पतालमा २०६९ साल माघ २२ गतेदेखि महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा १२ करोड रुपैयाँ बराबरको भवन, नेपाल सरकारको १ करोड १० लाख रुपैयाँ लगानी, स्थानीय जनताको ५२ लाख, कोमागाने नगरले करिब ४ करोड बराबरको महत्वपूर्ण उपकरण लगायत सरकारलाई हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले अस्पताल सञ्चालनको लागि वाषिर्क रुपमा २५ लाख रुपैयाँ सहयोग गदै आएको थियो । तीन वर्षको लागि रकम दिएकोमा यो अन्तिम वर्ष भएको नगरपालिकाले बताएको छ ।
अस्पतालको कुल खर्चको १० प्रतिशत रकम सहयोग गर्ने सैद्वान्तिक सहमति भएको उनले उल्लेख गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रेमराज पंगेनीलेे बाल र स्त्रीरोगको विशेषज्ञ डाक्टर, ४ मेडिकल अधिकृतसहित ३८ जनाको दरवन्दी अस्पतालमा रहेको जानकारी दिए ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
Loading...



0 comments:
Post a Comment