Loading...
असोज ४ – मैले अहिलेसम्म पठाएको पैसा कहाँ के मा खर्च गरिस् ? तीन वर्षपछि भेट भएका श्रीमानले सुख दुःखका कुरा गर्लान भन्ने सोचेकी सवितालाई श्रीमानको प्रश्नले झस्कायो ।
उहाँले श्रीमानसँग एक्लो हुँदाका समस्या सुनाउने योजना बनाउनुभएको थियो । तर उहाँको योजना त पूरा भएन उल्टै सोच्दै नसोचेको कुरा आइपर्यो । श्रीमानले पठाएको पैसा सविताले बिना काम खर्च गर्नुभएको थिएन । तर उहाँले के के मा खर्च भयो भन्ने हिसाब किताब चाहिँ राख्नुभएको थिएन । 
१३ वर्षअघि प्रेम विवाह गरेकी सर्लाहीकी सविता श्रीमान् तीन वर्षअघि मलेसिया जानुभयो फर्निचरको काममा । दुई जना छोराछोरी अनि गर्भवती श्रीमतीलाई छोडेर गएका श्रीमानले मलेसिया पुगेर यहाँ काम राम्रो छ अनि तलब पनि राम्रो छ भनेर फोन गर्दा निक्कै खुसी हुनुभएको थियो सविता । त्यति मात्रै होइन बेला बेला फोन गरेर सविताका बारेमा पनि सोधिरहनुहुन्थ्यो ।
एक वर्षमा तीन लाख रुपैयाँ पठाएपछि त झन् उहाँको खुसीको सीमा नै थिएन । त्यसैले उहाँले त्यो पैसाले श्रीमान् जाँदा लागेको ऋण तिर्नुभयो अनि एक कठ्ठा जग्गा किन्नुभयो । तर त्यतिञ्जेलसम्ममा अवस्था फेरिइसकेको थियो ।
‘त्योभन्दा अघि दिनमा एक पटक फोन गरिहनुहुन्थ्यो तर एक्कासी फोन गर्न छोडेपछि केही समस्यामा पो पर्नुभयो कि भन्ने सोचेँ’ सविताले भन्नुभयो । श्रीमानले फोन नगरेपछि सविताले आफैं फोन गर्नुभयो । बारम्बार फोन गर्दा पनि नउठाएका श्रीमानले उठाउँदा पनि झर्किएर बोलेपछि सविताले उतै अर्की महिलासँग लागेको शंका पनि गर्नुभयो ।
‘कारण केही बताउनुहुन्नथ्यो तर किन फोन गरेको ? मात्रै भन्नुहुन्थ्यो’ सविताले सुनाउनुभयो । फोन गर्न छोडेका श्रीमानले पैसा पनि पठाउन छोड्नुभयो । पैसाका बारेमा कुरा गर्दा उहाँको जवाफ हुन्थ्यो ‘यहाँ काम नै हुन छोड्यो अनि काम नभएपछि पैसा पनि हुँदैन ।’ काम र कमाई हुँदैन भनेपछि सविताले श्रीमानलाई नेपाल फर्किन आग्रह पनि गर्नुभयो । तर त्यतिबेला पनि श्रीमानले उल्टै प्रश्न गर्नुभयो ‘किन आउने ?’
श्रीमानले पैसा पठाउन छोडेपछि सवितालाई घरव्यवहार चलाउन हम्मे हम्मे पर्यो । घर खर्च चलाउनै गाह्रो हुन थालेपछि सविताले बोर्डिङ पढ्दै गरेका छोराछोरीलाई निकालेर सरकारी विद्यालयमा भर्ना गर्नुभयो । छोरा घर नफर्किंदै सविताका सासु ससुराको पनि निधन भयो । त्यसपछि त उहाँलाई समस्या अझै थपियो । त्यतिबेलै कान्छी छोरीको उपचारमा ५० हजार रुपैयाँ लाग्यो । सबैतिरबाट आर्थिक समस्यामा परेपछि सविताले घर केही न केही त गर्नै पर्यो भन्ने सोचेर किराना पसल चलाउन थाल्नुभयो । तर पसलबाट कमाई भएन उल्टै पचास हजार डुब्यो । त्यसपछि सविताले ऋण गरेरै घर खर्च चलाइरहनुभएको छ ।
तीन वर्षपछि श्रीमान् फर्किनुभयो । उहाँ फर्किएको थाहा पाएपछि सवितालाई ऋण दिनेहरु दिनैपिच्छे ऋण फिर्ता गर्न भन्दै धाउन थाले । तर खाली हात फर्किएका सविताका श्रीमानले पैसा तिर्न सक्ने कुरै भएन । ऋण तिर्न नसकेका श्रीमानले त्यो तनाव सवितातिर खन्याउन थाल्नुभयो । ‘मैले पठाएको पैसा कहाँ खर्च गरिस् अनि यति धेरै ऋण के का लागि लिएको हिसाब देखा भन्नुहुन्छ’ रुञ्चे स्वरमा सविताले भन्नुभयो ‘अब मैले कहाँबाट देखाउँ’ आफू निरक्षर भएकाले सासु ससुराको किरिया खर्च, छोरीको उपचार खर्च, पसल गर्दा गरेको लगानी अनि घर खर्च टिपेर राख्न नसकेको उहाँको भनाई छ ।
श्रीमानको प्रश्नको उत्तर दिन नसकेकी सवितालाई ऋण दिने साहुले त्यतिकै छोड्ने कुरै भएन । दिनदिनै ऋण लिएको पैसा फिर्ता दिन दवाव आएपछि सविताले श्रीमानले पठाएको पैसाले जोडेको त्यही एक कठ्ठा जग्गा बेचेर ऋण तिर्नुभयो । तर श्रीमानले उहाँलाई बिना काममा खर्च गरेर पैसा सकेको भन्न छोड्नुभएन ।
तीन जना छोराछोरीकी आमा सविता अहिले फेरि गर्भवती हुनुहुन्छ । तर श्रीमान भने उहाँसँग हुनुहुन्न । फेरि मलेसियानै जान्छु भन्दै हिँडेका श्रीमान् कहाँ गए भन्ने उहाँलाई पत्तो छैन । ‘मैले त नजानु भनेको हो तर त्यतिबेला मलाई कुट्नुभयो’ सविता भन्नुहुन्छ, ‘यो सबै खर्चको विवरण नराख्दा नै भयो ।’
Loading...

0 comments:
Post a Comment