Ads

Wednesday, August 17, 2016

छिल्लियो तीज गीत

Posted By: Samsung - 5:09 AM

भाद्र १, २०७३-  
एक दशकअघि गायिका कोमल वलीले ‘पोइला जान पाम’ गाउँदा त्यसले नेपाली समाजमा ठूलै हलचल मच्चाएको थियो । ‘पोइला’ भन्ने शब्द अश्लील भएको भन्दै उक्त गीतका सर्जक दण्डपाणि पाण्डे तथा गायिका कोमल वलीले त्यतिबेला बहिष्कारसम्मको सामना गर्नुपर्‍यो । भलै उक्त गीतले प्रतिबन्धको हल्ला पछि थप चर्चा कमायो तर कतिपय विद्वान्ले उक्त गीतलाई तीज संस्कृतिमाथि नकारात्मक प्रभाव पार्ने गीतका रूपमा चित्रण गरिरहे । 

यो भयो एक दशकअघिको कुरा, अहिलेसम्म आइपुग्दा बाग्मतीमा पानी धेरै बगिसकेको छ । गणतान्त्रिक मुलुकमा तीजका गीतका शब्द, भाका र प्रस्तुतिले पनि छलाङ नै मारेका छन् । यसपटक वान पिस लाए बाटोमै खोल्दिन्छु भनेको नमाने तिम्ले यत्रो...खाउ, खाउली केरा, स्याउ र केराले, जामा फाटेर क्वाप्प मुखमा हाल्छु म केरा काटेर, केटी मिलाउने, तेरी स्वास्नी पोइला गइ, पोइ कमाउने स्वास्नीले उडाउने जस्ता दर्जनौं तीज गीत सार्वजनिक भैसकेका छन् । गत वर्षको तीजमा ‘तल पनि पिरलो माथि पनि पिरलो, चोरी खान पल्केको यो ढाडे बिरालो’ ले टर्निङ प्वाइन्ट बनेर यस्ता गीतका निम्ति बाटो खोलिदिएपछि आक्रामक हिसाबले यस प्रकारका तीज गीत बजारमा आउन थालेका हुन् । ढाडे बिरालो गीतमा अभिनय मात्र गरेकी ज्योति मगरले त्यतिबेला ‘कन्ट्रोभर्सी क्वीन’ कै उपाधिसमेत पाएकी थिइन् । 
तीज गीत छिल्लिने क्रममा रत्यौली गीतमा परिणत भएको संगीतकर्मी एवं विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी बताउँछन् । रेग्मी भन्छन्– ‘एउटा गीतमा भुत्रो खाऊसम्मका शब्द पनि प्रयोग गरिएको छ, बाटोमै खोल्दिन्छु, मेरो मायालाई मिठो लाग्ने स्याउभन्दा नि केराजस्ता गीत आउनु तीज गीतको नाममा कलंक हुन् ।’ पंखा चलाइदेऊ रत्यौली गीतमा प्रयोग हुने थेगो मानिन्छ । सञ्चारकर्मी दुर्गा पंगेनीका अनुसार रत्यौली खेल्दा एक जना महिलाले गर्मी भयो भन्दै गुन्यू अलि माथि सार्ने र अर्किले आफ्नो गुन्यु हल्लाउदै पंखा हम्केजस्तो गरिन्छ । 

यो वर्ष करिब ३ सयवटा तीज गीत सार्वजनिक भएका छन्, जसमध्ये ९८ प्रतिशत तीज गीत रत्यौली शैलीका भएको संगीतकर्मी रेग्मीको जिकिर छ । एउटा गीत तयार पार्दा शब्द, संगीत, रेकर्डिङदेखि म्युजिक भिडियोसम्म बनाउने क्रममा १ लाख ५० हजारजति खर्च हुन्छ, यस हिसाबले यस पटक सार्वजनिक भएका ३ सय तीज गीतमा ४ करोड ५० लाख रुपैयाँजति खर्च भएको देखिन्छ । यसरी खर्च गरिएका गीतको अडियो–भिडियोको आम्दानी जिरो भएकाले पनि युट्युबमा गीत बढी लोकप्रिय भैदिए हुन्थ्यो भन्ने कलाकारहरूको चाहना हुन्छ ।

त्यसैले थम्बनेलमा युवतीको आकर्षक तस्बिर राखेर भए पनि त्यसलाई हिट बनाउने प्रयास गरिन्छ । रेग्मीका अनुसार राम्रा भनिएका २ प्रतिशत गीतको युट्युबमा भ्युअर्स नगन्य मात्र छन्भन्दा हुन्छ । मानिसहरूले उच्छृंखल र छाडा गीतलाई गाली गरेर पानीमाथिको ओभानो हुने तर आफैंले त्यस्ता गीत खोजी–खोजी हेरेर तृप्ति लिने प्रवृत्ति बढ्दै गएको देखिन्छ । साहित्यमा सेक्स जोडिनु, मायापिरतीका कुरामा द्विअर्थी संवाद हुनु स्वभाविक भए पनि तीज गीतको समग्र पक्षमै समस्या देखिएको रेग्मीको भनाइ छ । छिल्लिएका गीत, हट एन्ड सेक्सी ट्यागलाइनका गीत युट्युबमा धेरै पटक हेरिने भएकाले पनि अक्सर कलाकार यस्तै गीत सिर्जनामा सक्रिय भएको विश्लेषकहरू बताउँछन् । तीज गीतलाई थुप्रै वर्षदेखि नियालिरहेका संचारकर्मी दुर्गा पंगेनीका अनुसार द्विअर्थी तथा अश्लील शब्द प्रयोग भएका गीतलाई नै धेरैले प्राथमिकता दिएका छन् । अझ राम्रै र सभ्य किसिमका तीज गीतको भिडियो निर्माणका क्रममा उत्ताउला गतिविधि गर्ने, पहिरन उचाल्ने गतिविधि पनि देखिन थालेको छ । 

धेरै वर्षदेखि गीत गाए पनि चर्चा नपाइरहेका गायक प्रकाश कटुवाललाई ढाडे बिरालो गीतले चिनायो । प्रकाश त्यसपछि त्यस्तै किसिमका गीत निर्माणमा सक्रिय छन् । यो वर्ष उनले वान पिस लाए बाटोमै खोल्दिन्छु भनेको नमाने तिमीले यत्रो खाऊ जस्तो गीत गाएका छन् । उनकै संगीतको खाउली केरा बोटमै पाकेको पनि द्विअर्थी छ । द्विअर्थी र छिल्लिएका तीज गीतका निम्ति कटुवाल ब्रान्ड नै भैसकेका छन् । संचारकर्मी दुर्गा पंगेनीका अनुसार वान पिस लाए बाटोमै खोल्दिन्छुको शीर्षकमै खोट छ । अन्तराको बीचमा अनावश्यक संवाद राखेर तीज गीतको मर्मलाई बटार्ने काम गरिएको छ । तीज गीतमा यस किसिमका संवादको औचित्य कतैबाट पनि पुष्टि गर्न सकिँदैन । 

गायिका ज्योति मगरको ‘यसपालिको तीजमा दरको साटो रक्सी खाइन्छ’ ले पनि खुबै चर्चा पाएको छ । रक्सीका रूपमा बियर, ह्विस्की, भोड्का, वाइन सबै पिउने कुरा उनले गीतमा उल्लेख गरेकी छिन् । उक्त गीतको भिडियोमा ज्योतिले तीज पार्टीमा पोल डान्स गरेकी छिन् । यस्तै ज्योतिले तिलक वलीको एल्बमका लागि मुखमा हाल्छु म केरा काटेर गाइन् । उक्त गीतको भिडियोलाई अश्लील मान्दै हाल युट्युबबाट झिकिएको छ । ‘गीतसंगीत जति द्विअर्थी भयो, त्यसलाई दर्शक–श्रोताले उत्तिकै रुचाउनुहुन्छ,’ ज्योति भन्छिन् । 
‘एउटी केटी खोजेर कुरो मिलाऊ साथीले
महादेवले भन्दै छन् सारी माथिले ।’
संगीतकर्मी सुवास रेग्मीले साडी र टोपी लगाएर यो गीत गाउँदै व्यंग्यात्मक शैलीमा अहिलेका तीजगीत यस्तै छन् भन्दै फेसबुकमा पोष्ट गरे । उच्छृंखलताको पराकाष्ठा नाघेकाले आजित भएर आफूले उक्त गीत गाएको रेग्मीले बताए । सुवास रेग्मीको उक्त पोस्ट हजारौंले सेयर गरे भने लाखौंले त्यसलाई हेरे । अहिलेका तीज गीत रत्यौली भएकाले यी गीत कुनै पनि अर्थमा स्ट्यान्डर्ड तीज गीत नभएको रेग्मीको दाबी छ । ‘रत्यौलीमा केही पुरुष महिला वेशभूषामा प्रस्तुत हुन्छन्,’ रेग्मी भन्छन्– ‘तीनलाई लुठो भनिन्छ, अहिलेका तीजगीतमा लुठोहरूको सक्रियता बढेकाले पनि यस्तो भएको हो ।’ 


दामोदर भण्डारी र उमादेवीको चाइनिज लुगा शीर्षकको गीतमा पुरुष मोडलले युवतीको जामा फर्काएको दृश्य समावेश छ । वास्तवमा उक्त दृश्य राख्नुले निर्देशकको नियतमै खोट देखिन्छ । गीतमा विकृतिको विरोध गर्ने शब्द धेरै छन् तर छायांकनका क्रममा युट्युबमा भ्युअर्स बढाउन मात्र त्यस प्रकारको दृश्य राखिएको पाइन्छ । गर्मी भयो मलाई भित्रबाट पंखा चलाइदेऊ— खुमन अधिकारी र रमिला न्यौपानेले गाएको तीज गीत हो । यो गीतको भिडियो निर्माणका क्रममा गर्मी भएको भन्दै मोडल जानवी बोहोरालाई पटक–पटक सारी फर्काउन लगाइएको छ । गीतको मर्मलाई नै मोड्ने गरी जानवीलाई त्यसरी प्रस्तुत गर्नुको पछाडि युट्युब भ्यू बढाउन गरिएको प्रयास मान्छन्, विश्लेषकहरू । हजारौं गीत गाएर चर्चा कमाएका खुमन अधिकारीजस्ता कलाकार पनि शिखरमा कायम रहन तीज गीतमा त्यस्ता दृश्य राख्न सहजै तयार हुनुले अहिले सामान्य कलाकारको अवस्थालाई समेत चित्रण गर्छ ।

 सार्वजनिक स्थानमा लोप्पा ख्वाउनुलाई पनि सामान्यत: अश्लील नै मानिन्छ । अर्जुन कौशल र राधिका हमालले यसै पटकको एउटा तीज गीतमा ई भन्ने थेगो प्रयोग गर्दै लोप्पा ख्वाएको देखाइएको छ । गीतको भावले लोग्ने पालो गरेर दुईवटी श्रीमतीसँग आलोपालो सुत्ने गरेको जनाउँछ भने जेठीले आज कान्छीसँग सुत्ने पालो हो भन्दै लोग्नेलाई आफूसँग नसुताई फर्काउने प्रयास गरेको भिडियोमा देखाइएको छ । 

यस्तै प्रवीण थापाको तीज गीत सारी र चोली लाउँदिन म त जवानी छेकिन्छ, मिनिस्कर्ट लाउँछु बरु क्या सेक्सी देखिन्छ गीतको सुरुवातमै महिला मोडललाई अर्धनग्न देखाइएको छ । टीका पुनको स्वरको यो गीत पनि बजारमा चल्न सक्ने अनुमानका आधारमा त्यसरी तयार गरिएको गीत हो । 

यस पटकका टिपिकल  (एकल महिला गायन) तीज गीत 
मन्जु पौडेल    :    खै त बाबा बुझेको कुरा बरिलै
सरिता कार्की    :    पातलो जीउ
ज्योति मगर    :    दुम्सी काँडे जुँगा
कला पंगेनी    :    तारामै जस्तै होला कि संसार
लिना रेग्मी    :    माइती लिन आएनन्

फरक धारका चर्चित तीज गीत
पशुपति शर्मा र कोमल वली    :    लास्टै चोटि हो । 
वैकुण्ठ महत र शीतल शर्मा    :    पानीजहाज
पशुपति शर्मा र जानकी तारामी मगर    :    मगर्नीको सेलरोटी 



About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy