Ads

Wednesday, August 24, 2016

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईदै

Posted By: Samsung - 5:21 PM
भदौ ९, काठकाडौ ।प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।

कंसले कारागारमा बन्दी बनाएको अवस्थामा देवकीबाट कृष्णको जन्म भएको थियो। चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि विष्णुको मोहित पार्ने शक्तिका कारण कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा परेका थिए। त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई “नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्‍याऊ” भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भन्ने गरिएको छ।
वासुदेव नन्दका घरमा गई कृष्णलाई त्यहीँ छाडी त्यही दिन जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख छ। श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए।अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए।युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो। यसैकारण गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ।

बाल्यकालदेखि नै विचित्रलीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलोत्सवका रुपमा समेत मनाउने गरिन्छ । “यो नै पूर्वीय जगतको प्रेम दिवस हो र प्रणय दिवसका नाममा नेपाल–भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो” साहित्यकार एवं आध्यात्मिक चिन्तक गोविन्दप्रसाद वेदमणिले भने।

मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित भएका श्रीकृष्णले नै पुतना, कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त गराई मानव मात्रलाई भयमुक्त बनाएका थिए ।
यसै प्रसङ्गमा श्रीकृष्णले श्रीमदभगवत् गीतामा भनेका छन्, “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।” अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ, त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानवरुप धारण गरेर धरतीमा जन्म लिनेछु। श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्णजन्माष्टमी पर्व मनाउने गरिएको छ।

आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिरलगायत तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ।  

आजको दिनमा विशेष गरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउँछन् । यसोगरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy