२०७३ साल फागुन पहिलो साता हेटौँडाकी १५ वर्षीया किशोरी बलात्कृत भई १६ हप्ताको गर्भवती भएपछि उनलाई आफन्तले काठमाडौँस्थित परोपकार प्रशूति तथा महिला अस्पताल, थापाथलीमा ल्याएर सुरक्षित गर्भपतन गराए। ती किशोरीलाई आफू गर्भवती कसरी भएँ, को जिम्मेवार छ भन्ने कुरा थाहा थिएन। १६ वर्षभन्दा कम उमेरका किशोरीको मन्जुरीमा शारीरिक सम्बन्ध राख्दा पनि त्यसलाई बलात्कारका रुपमा परिभाषित गरिएको छ। यसरी दुर्व्यवहारको शिकार भएर गर्भवती हुने महिलाहरु देशैभरि भेटिन्छन्, तर १२ हप्तामाथिको सुरक्षित गर्भपतनको सेवा भने सहज छैन। पीडित महिलाहरुले त्यो सेवा पाउन थप पीडा भोग्नु परिरहेको छ। यो त जानकारीमा आएको उदाहरण हो। यस्ता कति घटना होलान् जहाँ महिलाहरु मान्यताप्राप्त स्वास्थ्य संस्थामा नआई असुरक्षित गर्भपतन गराउन वाध्य छन्।
नेपालमा १२ हप्ताभन्दा माथिको सुरक्षित गर्भपतन गर्ने सूचीकृत स्वास्थ्य संस्था सीमित भएकाले धेरैलाई यो सेवा लिन राजधानी नै आउनुपर्ने वाध्यता छ। निःशुल्क भइसकेको स्वास्थ्य सेवा लिन हजारौँ रुपैयाँ तिर्नुपर्ने अवस्था छ। अझै पनि नेपालमा असुरक्षित गर्भपतनले महिलाको ज्यान जान्छ भनी लेख्नु पर्दा कतिपय मानिसलाई अचम्म लाग्ला। तर वास्तविकता यही हो कि गर्भपतनका कारण अहिले पनि मातृ मृत्यु हुने गरेको छ। नेपालमा अहिले ७ प्रतिशत आमाको ज्यान असुरक्षित गर्भपतनका कारण हुनेगर्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर ४९ प्रतिशत महिला असुरक्षित गर्भपतन सेवा लिन वाध्य छन्। नेपालको संविधान, २०७२ ले प्रत्येक महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी हकलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरेको छ। संविधानको मर्मलाई संस्थागत र व्यावहारिक रुपमा जति सक्दो छिटो लागू गर्नुपर्ने देखिन्छ।
सरकारले आर्थिक वर्ष २०७३/७४ बाट सुरक्षित गर्भपतन सेवा सम्पूर्ण रुपले निःशुल्क गर्ने निर्णय गरेअनुसार सूचीकृत स्वास्थ्य संस्थाहरुमा यो सेवा २०७३ साल पुस १ गतेबाट पूर्णरुपमा निःशुल्क छ। यो सेवा सहज रुपमा विभिन्न स्वास्थ्य संस्थाबाट पाउने जानकारी नहुँदा धेरै महिला महँगो शुल्क तिरेर निजी औषधि पसल तथा क्लिनिकहरुबाट औषधि खाएर अपूर्ण गर्भपतन गराइरहेका छन्। यसरी जथाभावि औषधि चलाएर महिलाको ज्यान जोखिममा राख्ने कामको नियमित अनुगमन गर्न, गैरकानुनी कामलाई रोक्न र दोषिलाई कारबाही गर्न सरकार पछि हट्नु हुँदैन।
Loading...
मुलुकी ऐन ज्यान सम्बन्धी महलको २८ ख अनुसार गर्भपतन गर्ने महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ र जबरजस्ती करणी वा बलात्कार वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भको पतन सूचीकृत स्वास्थ्यकर्मीले सूचीकृत स्वास्थ्य संस्थाबाट गर्न पाउँछन्। | साथै, गर्भपतन नगराउँदा गर्भवती महिलाको ज्यान खतरामा पर्ने भएमा र शारीरिक र मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्था आएमा बिकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना रहेकाले योग्यताप्राप्त चिकित्सकको रायमा गर्भपतन गर्न सकिन्छ। यो सेवा दिँदा प्रत्येक महिलाको गोपनीयताको पूर्ण ख्याल राख्नुपर्छ।
गर्भवती महिलाको मन्जुरीबिना, करकाप, धम्की, ललाइफकाई, झुक्याई वा प्रलोभन देखाई गर्भपतन गराउन नपाउने कानुनी आधार छ। साथै लिंगको पहिचान गरी लिंगका आधारमा गर्भपतन गराउन पाइँदैन। भ्रुणको लिङ्ग पहिचान गर्ने/गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र लिंगको आधारमा गर्भपतन गर्ने/गराउनेलाई थप एक वर्ष कैद हुन्छ। भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गर्ने/गराउने जस्तो जघन्य अपराधलाई बढीमा १८ महिनाको कैदले यसको गाम्भीयर्तालाई नजरअन्दाज गर्न खोजेको जस्तो भान हुन्छ। स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखा र नेपाल मेडिकल काउन्सिल मिलेर यस्तो काममा सहभागी हुने मानिसलाई जतिसक्दो कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्छ। साथै, अल्ट्रासाउन्ड गर्ने ठाउँहरुको नियमन र अनुगमन कडा ढंगले गर्नुपर्छ। सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले दिएको गर्भपतन सेवा गैरकानुनी हो र यस्तो भएमा सेवा प्रदायक सजायको भागिदार हुनेछ।
बयालपाटा अस्पतालमा मैले (डा. गौचन) राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा सञ्चालित १२ हप्तामाथिको गर्भपतन सेवा सम्बन्धी तालिम लिएर सूचीकृत स्वास्थ्यकर्मी भएपछि अछाममा पनि १२ हप्तामाथिको सुरक्षित गर्भपतन सेवा सञ्चालनमा आएको छ। १२ हप्तामाथिको गर्भपतन गर्नका लागि सूचीकृत स्वास्थ्यकर्मी हुन स्त्री रोग विषेशज्ञ वा एमडिजिपी हुनुपर्छ। सुदूरपश्चिममा यो सेवा अब धनगढीको सेती अञ्चल अस्पतालबाहेक बयालपाटा अस्पतालमा उपलब्ध भएको छ। योसँगै अछामबासीलाई हजारौँ खर्च गरेर यस्तो सेवा लिन धनगढी वा भारत जानुपर्ने वाध्यता टरेको छ।
अछाममा असुरक्षित गर्भपतनका कारण एक जना महिलाको ज्यान गएको धेरै वर्ष भएको छैन। १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा अछाम जिल्लामा २०६० सालबाट सुरु भए पनि सेवा प्रदायकको अभावले २०६६ सालबाट मात्र नियमित रुपमा सेवा उपलब्ध छ। त्यतिबेला सुरक्षित गर्भपतन सेवा अछाम जिल्ला अस्पताल र न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालबाट सुरु गरिएको थियो। बयालपाटा अस्पतालमा यो सेवा सुरुवातदेखि नै सम्पूर्ण रुपले निःशुल्क छ। अहिले १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा अछाममा जिल्ला र बयालपाटा अस्पतालसँगै दुई प्राथमिक स्वास्थ्य केन्द्र (कमलबजार र चौरमान्डु) र १० स्वास्थ्य चौकीहरु (दुनी, मार्कु, जयगढ़, मेल्लेख, शान्तडा, जुपू, विनायक, वारला, हिच्मा र तुर्माखाद) बाट नियमित रुपमा प्रदान गरिन्छ।
सरकारले सुरक्षित गर्भपतनका लागि व्यवस्था गर्दा पनि महिलाहरु गर्भपतन गराउन लापरबाही गरिरहेका हुन्छन्। निजी क्लिनिक र औषधि पसलबाट किनेर औषधि खाई पूर्ण रुपमा गर्भपतन नभई रक्तश्राब बढी भएर अछाम जिल्ला अस्पताल र बयलपाटा अस्पताल आउने महिलाहरु धेरै छन्।
अदक्ष जनशक्तिले गरेका गर्भपतनका कारण नेपालमा बर्सेनि ८० हजारभन्दा बढी महिलामा जटिल समस्या आउने गरेको तथ्यांक गर्भपतन सम्बन्धी राष्ट्रियस्तरको अध्ययन प्रतिवेदनले देखाइसकेको छ। त्यसैले सुरक्षित गर्भपतनको अधिकार उपयोग गर्न धेरै महिलासम्म यसबारे जानकारी पुर्याउन जरुरी छ। ताकि सानो लापरबाहीले महिलाको ज्यान तलमाथि नपरोस्।
(डा. बराल जिल्ला स्वास्थ्य कार्यालय, अछामका प्रमुख हुन् भने डा. गौचन बयालपाटा अस्पतालका चिकित्सा सेवा तथा शिक्षाका निर्देशक हुन्)
Loading...


0 comments:
Post a Comment