Ads

Friday, September 23, 2016

एउटी ‘अछुत’ केटीको संस्मरण!

Posted By: Samsung - 7:17 AM

Loading...
आफ्नो गाउँमा हुर्कादा होस् वा जिल्लाको सदरमुकाममा बसेर पढ्दा होस्, हाम्रो समाजले दलितमाथि गर्ने व्यवहार मैले देखेकी, भोगेकी छु। ‘अछुत’ माथि गरिने त्यो व्यवहारको पीडा कथित उपल्लो जातका मानिसले बुझ्न गाह्रो हुन्छ, त्यो स्वभाविक छ। तर आफ्नै आँखाले देखेको दलितमाथिको थिचोमिचोलाई नस्वीकार्ने र समाज सुधारका लागि आफू एकदम अघि सर्न नचाहनेहरू देखेर भने दिक्क लाग्छ। अझ कतिले त समस्यानै छैन जस्तो गर्छन! 
जसले भोग्छ, उसलाई कति पीडा हुन्छ भन्ने बुझ्न मानिसहरुलाई सजिलो होस् भनेर मैले एउटी ‘अछुत’ केटीका स्मृतिमा रहेका केही घटनाहरू समेटेर छोटो संस्मरण तयार पारेकी छु।
***
‘हिजो राति हाम्रो घरमा बसेर फर्किनेमध्ये एकजना दलित भएको थाहा पाएपछि मलाई आमाले बेस्सरी गाली गर्नुभयो। अबदेखि तपाईँलाई थाहा नदिइ कसैलाई घरमा ल्याउँदिनँ भनेर बाचा गरेँ, बल्ल आमाको किचकिच बन्द भा’छ। के गर्ने यार, म एक कदम अघि बढ्न खोज्छु, घरकाले मान्दैनन्,’ सहकर्मी साथीले सुर्ताउँदै भनिन्।
तिमी चिन्ता नगर, म अब तिम्रो दैलोमा टेक्न कहिल्यै आउदिनँ, मैले हाँसेर भनिदिएँ। मेरी साथीले मसँग साटेको उनको घरभित्रको कुराको मर्म बुझेरै मैले उनलाई ढुक्क पार्न त्यसो भन्नैपर्‍थ्यो। 
गाउँको निसासिने भेदभाव पछि छोडेर क्याम्पस पढ्न सदरमुकाम छिरेकी म शहरमा पनि विभेदकि सिकार हुनुपर्दा मन खिन्न हुन्थ्यो। कम्तीमा गाउँमा भन्दा केही ठिक छ, चित्त बुझाउने बाटो यतिमात्र थियो। 
***
उनै साथीको घर भएको सदरमुकामभन्दा केही पर मेरो गाउँ थियो। गाउँमा एकपटक गाविसले निर्णय गर्‍यो, आठदश घरधुरीलाई पधेँरो धाउन पायक पर्ने गरी हाम्रो घरको आगनमा धारो बनाउने। प्राय सबै टोलबासीले सहमति दिए। एउटा परिवारले भने अड्डी लियो- एकाबिहानै कामीको आगन टेकेर अझ उनीहरुकै मुख हेर्दै पानी थापेर लग्दैनौं, नयाँ धारो हाम्रै आँगनमा बन्नुपर्छ।  कुरो बिग्रियो, हाम्रो आँगनमा पानीको धारो लाग्न पाएन।
विवाद झन झन बढ्यो, मुद्दा मामिलासम्म चल्यो। गाउँघरमा सबै मिलेर बस्नै पर्थ्यो, सबलाई पानी चाहिन्थ्यो नै। बल्लतल्ल ‘बिच’को बाटो निकालेर समाधान खोजियो। दुबैतिरको बारीको साँध पारेर जुम्ल्याहा धारो बनाउने। पूर्वपट्टीबाट झर्ने धारोले एउटै मात्र त्यो कथित ‘छुत’ परिवारलाई पानी दिन्थ्यो, पश्चिमपट्टीको धारोले अरू बाँकी ‘अछुत’ हरुलाई। यसरी कामी परिवारको खेतको साँधमा जुम्ल्याहा धारो बनाएर विवाद समाधान भयो। अछुतहरुले मात्रै पानी थाप्ने पश्चिमपट्टीको धारोको पानी पिएर म हुर्किएँ। हामीले छुन नपाइने पूर्वपट्टीको त्यो धारो छुने हिम्मत कहिल्यै राखेनौं! 
***
घाँसको भारी लहरै बिसाएर हामी केटी जति घर नजिकैको चउरमा तु-तु खेल्दैथियौं। हाम्री दिदीले सास दबाएर, आँखा चिम्म गरेर तु-तु-तु भन्दै बेस्सरी चउरमा कुदिरहेकि थिइन्, अर्कोतिरबाट दाहिने कम्मरमा गाग्री बोकेर आइरहेकि कथित उपल्लो जातकी महिलालाई गल्तीले छोइदिइन्। अनि त के चाहियो र! दिदीले छोइदिएको त्यो पुरै पानी ती महिलाले घाँसको डोकोमा खन्याइदिइन्, दिदीलाई चउरमा पछारिन्, बेस्सरी कपाल समातेर चुइँचुइँ भुत्ल्याइन् र गाग्रीको पिधले टाउकै टाउकोमा हानिन्।
रिसले आगो भएकी ती महिलाले दिदीलाई गाली गर्दै भनिन्, ‘तलाई डंकिनी तेरो आँखा छैन्, अर्काले ह्वादेखि ल्याको पानी छुन्छेस्? उनले त्यसपछि प्रयोग गरेको अपशब्द म यहाँ लेख्न सक्दिनँ।
दिदी डरले धर्रर कापिन्, तर चुक्क पनि बोलिनन्। ‘कामी’ को छोरी भएर ‘उपल्लो’ जातले ल्याएको पानी छोएर गल्ती भएको कुरा दिदीलाई थाहा थियो! त्यो साँझमा बेस्सरी पिटाइ खाएकी दिदी पानी चुहाउँदै डोका बोकेर अघि लागिन्।
हामी उनको पछिपछि लाग्यौं। यस्तै पिटाइ आफूले पनि खाइने डरले अरुको गाग्री छोइने कुरामा हामी एकदमै सतर्क हुन थाल्यौं।
***
आमाले ठूलो स्टिलको थालमा सदरमुकामबाट किनेर ल्याएको काउली, चामल, आलु अनि मकैको खोस्टामा मसला, बेसार, अदुवा हालिसकेपछि भन्नुभयो, ‘जाउ त छोरी यो फलानाको घर दिएर आउ।’  आफ्नो समुदायभन्दा बाहिरकालाई बारीमा काम गर्न बोलाउनुपर्‍यो भने आमाले पकाइतुल्याई गरेको सरसामान उनीहरुकै घरमा पुर्‍याइदिने चलन थियो।
एका बिहानै ती सबै सरसामान लिएर उनीहरूको दैलो पुग्ने काम मेरो हुन्थ्यो। उनीहरुको घर भित्र छिरेपछि त्यो थाल रितिएर कति बेला म भएको ठाउँ आइपुग्थ्यो, थाहा हुन्नथ्यो। म भने बाहिरै कुरेर बस्थे, कहिलेकाही त लाग्थ्यो बरू एकछिन म पनि थाल हुन पाए! 
‘तपाईँले पकाएको यिनीहरू किन खादैनन्?’ रित्तो थाल फर्काउदै मैले एक दिन आमालाई सोधेँ। 
‘छोइन्छ रे के, पहिल्यैदेखिको चलन,’ आमाले उत्तर दिइन्।
मैले फेरि प्रश्न गरे, 'अनि कहिले हट्छ त?'
आमाले भनिन्, 'यिनीहरू जहिले मर्छन् तहिले।'
मैले फेरि मुर्मुरिदै भने, ‘मरिहाले पनि हुने नि!’
अनि आमाले मतिर हेर्दै भनिन्-धत् त्यस्तो भन्न हुँदैन।
गाउँमा अर्मपर्मका बेला हामीले चाँही उनीहरुले बनाएको खाजा अलग्गै टुसुक्क बसेर खान्थ्यौं, अनि एकैछिन पनि थकाइ नमारी काममा फर्किन्थ्यौं। त्यसैको पर्म तिर्न आएका उनीहरू भने खाजा बनाउने र खानेसहित एक दुई घन्टा धेरै समय पाउँथे! उनीहरुको जातैले पाकोरे! 
***
खेतीपाती नसकिकन हामीले स्कुल जान पाउने कुरै थिएन। खेतीपाती सकिदा स्कुलले दिएको बर्खे बिदा पनि सकिसकेको हुन्थ्यो। कक्षामा अरु साथीहरु पुराना भैसक्दा हामी नयाँ किताप बोकेर स्कुल पुग्थ्यौं। 
स्कुलमा एकपटक एउटा संस्थाले हामीलाई भित्ते पत्रिका लेखनको दुई दिने तालिम दिने भयो। टिभीमा आउने हिरोइन जस्तै एकजना महिलाले तालिमको उद्घाटन गरिन्। उनको कपाल केटा मान्छेको जस्तै छोटो थियो, उनलाई रातो लिपिस्टिकले साह्रै सुहाएको, उनी हाँस्दा उनको मिलेको दात देखिन्थ्यो, अनि गालामा डिम्पल। अचम्म भयो, उनले मसँगै बसेर नङपालिस लगाएको हातले भात खाइन्। दलित भनेर छोइछिटो नगरी उनले मसँगै बसेर भात खाएपछि म दङ्ग परेँ। पछि आमालाई पनि सुनाएँ। आमाले ‘बजारको मान्छे भएर होला नी’, भन्नुभयो।
जीवनमै पहिलो पटक तालिम पाएका हामीहरू कत्तिखेर भित्तेपत्रिका निकाल्ने होला भनेर तम्तयारी गर्न थाल्यौं। सबैभन्दा राम्रो अक्षर लेख्ने विद्यार्थी भनेर विद्यालयले मलाई पुरस्कार दिएकाले पनि लेख्ने जिम्मा मलाईनै आयो। सबै तयारी पुरा भएपछि  तीन जना साथीलाई लिएर एक जना शिक्षकको घरमा बसेर भित्ते पत्रिका लेख्न निस्किएँ। 
शिक्षकको छोरी, जो मेरो सहपाठी थिइन्, उनले हामीलाई आगनमै आएर स्वागत गरिन्। तर दैलो भित्र लगिनन्, अघिल्तिरबाट घुमाएर घरपछाडिको गोठमा लगिन्। मलाई भने उनी पढ्ने कोठा छिर्न कत्रो मन थियो, उनले आफ्नो घरमा कथाका थुप्रै किताब भएको सुनाएकी थिइन्। उनको 'ड्याडी'ले किनिदिएका रे।
‘यता शितल पनि छ र राम्रो हावा पनि लाग्छ यही बसेर लेखौ न है?’ गोठमा पुगेपछि साथीले आग्रह गरिन्।
गोठमा चाङ लगाएर राखेको चिरान काठ र धुस्यानमा बसेर दिनभरी अफ्ठेरोसँग भित्ते पत्रिका लेखेँ। मलाई दिनभरिनै नरमाइलो लाग्यो। 
मैले साँझ घर आएर आफ्नो दैनिकीमा लेखे, ‘पशुलाई जस्तै गोठमा लगेर दिनभरी राखिन्, चिउरा र भटमास गोठमै ल्याएर खान दिइन्, मलाई त्यो खाजा नभएर पशुलाई घास खान दिए जस्तै लाग्यो। हामीलाई भित्ते पात्रो लेख्न सिकाउन सर एकछिन पनि आएनन्, उनीसँग मलाई झनै रिस उठेको छ.....।’ 
त्यो दैनिकी लेखेको मयुर कापी एकदिन पढ्ने किताबको बिचमा मिस्सिएर स्कुलमा पुग्यो। एउटै बेन्चमा बस्ने साथीले कापी  पढिन्। त्यसपछि उनले अर्को रहस्य पनि खोलिन्: हामी विज्ञान विषय पढ्न हेडसरको डेरामा जान्छौं तर यो कुरा तिमीलाई कहिल्यै पनि थाहा दिएनौं।
लौ किन नि? मैले जिल खाँदै सोधेँ।
उनले बेलिविस्तार लगाएर भनिन्: हेडसरले नै हामीलाई नभन्नु भन्नु भा'को। तल्लो जातका विद्यार्थीलाई कोठामा ल्या’को थाहा पाए भने बस्नै दिन्न भनेर घरबेटीले भनेका छन् रे, त्यही भएर। छुट्टी भएपछि हामी सबै जना हतारिदै घर गएजस्तो गर्थ्यौं तर तिमीले थाहा नपाउने गरि हामी हेडसरकोमा पढ्न जान्थ्यौ। तिमीले गर्दा हामीले पनि पढ्न नपाइने हो की भनेर डरले हामी सबैले नभनेको हो।
त्यो सुनेर मेरो मन कति पोल्यो, तर मैले गर्न सक्ने केही थिएन। वर्षको अन्तिममा रिजल्ट आयो, उपल्लो जातका विद्यार्थी मात्रै आफ्नो कोठामा सुटुक्क बोलाएर बढाउने उनै हेडसरले रिजल्ट सुनाए। रिजल्ट सुन्न कान ठाडा पार्दै उभिएकी मलाई हेर्दै उनले भने, ‘ल बधाई छ, राम्रो मेहनत गरेर पढेकी रै’छौ, तिमी दोस्रा भयौ, फस्ट ब्वाइलाई झण्डैले जितेको।’
मैले भने, ‘धन्यवाद सर, अझै मेहनत गरेर पढ्छु।’ मलाई राम्ररी याद छ, मैले शिर ठाडो पारेर, मेरा आँखा हेडसरका आँखाबाट नहटाई त्यसो भनेकी थिएँ।
*** 
त्यो घटनादेखि आजसम्म समय धेरै बितिसकेको छ, म आज पनि शिर ठाडै पारेर बाचेकी छु। समाज पनि केहि बदलिएको छ। तर धेरै बदल्न बाँकी छ, त्यही कुरा कथित 'उपल्लो' जातका मानिसले जति चाडो बुझछन्, समाज परिवर्तनको गति त्यति तिब्र हुनेछ।
                                                         (पत्रकार सविता विश्वकर्मा)

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy