Ads

Friday, September 16, 2016

आजदेखि सोह्र श्राद्ध सुरु, के हो सोह्र श्राद्ध ? अर्थ र महिमा

Posted By: Samsung - 8:47 PM
Loading...

असोज , काठमाडौं ।हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएकाे छ ।चान्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धासम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्णपक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि दसै सुरु हुने (जमरे औंसी)सम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ । पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ। 
श्राद्ध  
श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अथ्र्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो– पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु।जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ। यसैगरी उनीहरूको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ। वेदादि शास्त्रहरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूप्रति गर्नुपर्ने कार्यलाई नैं श्राद्ध भनिन्छ। पितृकार्य अन्य कार्यको तुलनामा श्रद्धापूर्वक गर्नुपर्ने भएकोले पनि पितृहरूको उपासना गर्ने कार्यलाई श्राद्ध भनिएको हो। यसकारण दुग्दाधि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नैं श्राद्ध हो। यसैगरी पितृहरूको स्मरण गर्दै ब्राहृमणहरूलाई दान गर्नु वा भोजन गराउनु पनि श्राद्ध नैं हो। आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेद नै मान्दछन्। ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धर्म सम्प्रदायलाई रोकावट छैन। विष्णुपुराण, नृसिंहपुराण, गरुडपुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ। श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ। पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूको निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दुधर्मले दिएको छ। अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र दिव (स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ। श्राद्धको फलबाट दिवलोकमा पितृहरू दीर्घकालसम्म रहन्छन् र सुख पाउँछन् भन्ने कुरा वेदमा प्रष्ट्याइएको छ।

श्राद्ध गर्ने विधि 

यस श्राद्धमा चार जना ब्राह्मण चाहिन्छ । तर चारैजना व्राम्हणहरु भेला गर्न नसकिने भएकाले ब्राह्मणको प्रतीकका रुपमा कुशको ब्राह्मण थापि काम चलाउने गरिएको छ । पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा थियो । त्यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो। दुवै पट्टी दुई–दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राहृमण भनिन्छ। अन्य श्राद्धको विधि जस्तै सुरूमा देव (मनुष्य)दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरू हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रणा गरिन्छ । पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राहृमण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राहृमणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ ।सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीनतीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ । पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ, तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ । पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति नातिना र ब्राहृमण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन्। हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ । 

के गरिन्छ श्रद्धामा ?  

श्राद्धको प्रमुख अङ्ग तर्पण, सिधादान, पिण्डदान र ब्राहृमण भोजन हुन् तर यति मात्र हुन् भन्ने होइन । अन्य अङ्ग पनि त्यति नै महत्वपूर्ण छन् । पिण्डदानको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ । हिन्दू धर्म संस्कृति समयको दृष्टिले अति प्राचीन, स्वभावको दृष्टिकोणले अति उदार र विस्तारको दृष्टिकोणले अति फैलिएको स्पष्ट छ । यसमा भूखण्डका बहुविधासँग मात्र नभई स्वर्गका देवता, पातालका नागजाति, पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको छ । त्यसैले श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई आब्रहृमस्तम्भपर्यन्त अर्थात् ब्रहृमादेखि किरा पतङ्गसम्मको तृप्तिको कामना गरिएको हुन्छ । सामान्य अर्थमा पिण्ड भनेको डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राख्छ । गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ । त्यही गोलाकार वस्तुमा तुलसीपत्र र कालो तिल मिसाई श्राद्धविधान अनुसार कर्ताले चोरी औंलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र, प्रवर स्वरूप उल्लेख गरी पिण्ड वेदीमा अर्पण गरिन्छ। श्राद्धको होमलाई अग्नौकरणू भनिन्छ । श्राद्धको निमित्त शुद्ध वस्त्र र शुद्धभोजन अनिवार्य छ । श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश मुण्डन गरी एक छाक मात्र खानुपर्दछ । यो कर्मलाई एकभक्त (हविश्य) पनि भनिन्छ। केशमुण्डन गर्न समय, फुर्सद, अवस्था नमिलेमा कुशपानीले टाउको नुहाई पवित्र हुने चलन छ । शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने उल्लेख छ । यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राहृमण पनि सदाचारी हुनुपर्दछ । श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राहृमण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ। जुनसुकै श्राद्ध गर्दा पनि पौराणिक मन्त्रलाई भन्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइन्छ। देवताहरूभन्दा पितृ रिझाउन कठिन हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा पढ्नुपर्ने शास्त्रमा उल्लेख छ ।
Loading...
 

कसका लागि कुन तिथि उपयुक्त ?

आश्वीन कृष्णपक्ष नवमी श्राद्ध– यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन् । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।
आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध– यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ ।
आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध– यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तैः दुर्घटना, हत्या, आत्महत्या अदि । आश्वीन कृष्णपक्ष अमावस्या– कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ।

आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा– यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख–समृद्धिको प्राप्ति पनि हुन्छ। विभिन्न अनलाइनबाट 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy