Ads

Tuesday, August 16, 2016

सुदूरपश्चिममा ओल्को पर्व मनाइँदै

Posted By: Samsung - 9:04 PM
भदौ १, काठमाडौं । आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडी जिल्लासहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । 

वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले राससलाई बताउनुभयो । यो दिन ओल्कोका रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुँड र पकवान आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेको छ । 

धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ भने सिंह सङ्क्रान्ती पनि भन्ने गरिएको छ । 

यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाइन्छ । ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्दछन् । यो बुढीलाइ असोज सङ्क्रान्तिका साँझ गाउँका सबैजना मिलेर एकैसाथ पोल्ने चलन छ । 

“ओल्को भन्नाले सम्मानित व्यक्तिलाइ दिइने केही वस्तु वा उपहारलाई जनाउँछ”, पण्डित पन्तले भन्नुभयो, “ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रो पर्वको त मुख्य विशेषता नै हो, ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु–दिनुमा मात्रै नभई संस्कृति, परम्परा र आस्थाका रुपमा पनि चिनिन्छ ।” 

“यो पर्व विशेषमा ओल्कोका रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुँड र पकवान आदि मान्यजन र आफन्त कहाँ पठाइन्छ भने आजभोलि लत्ताकपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने गरिन्छ”, पण्डित पन्तले भन्नुभयो, “गुठियारहरुले इष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने गरिन्छ ।” ओल्को परापूर्वकालमा केही वर्षअघिसम्म ठूलाबडालाई साना जातकाले चिनो वस्तु चढाउने दिनका रुपमा समेत रहिआएको छ । 

ओल्के सङ्क्रान्तिताका सतरति (सात रातको झरि) पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वा वन चर्न गएका भैँसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना र ऋतुमती धर्तीले नवीन सृजना गर्न थाल्ने विश्वास रहिआएको छ । प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्रा देखिनुका साथै धुलो, धुवाँ र फोहोर पखालिन्छ र पाखापखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ । 

बुढी हाल्ने 

ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका अलिक उच्च टाकुरामा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्ने गरिएको छ । यो बुढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बुढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ । 

सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो ‘बुढी पोल्ने’ पर्व मनाइने गरिएको छ, पण्डितले भन्नुभयो, “घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ, घरबाट चिरेको काँक्रो लगेर पोलेको बुढीमा राख्ने गरिन्छ ।” यसरी बुढी पोलेमा वर्षभरि लुतो लगायतका रोग–ब्याधीबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ । तर पछिल्लो समय आधुनिकताका साथै युवापुस्ताले खासै ध्यान नदिँदा यो पर्व लोप हुँदै गइरहेको छ । 

बत्ती बाल्ने महिनाको समापन 

सुदूरपश्चिममा साउन १ गतेदेखि सुरु भएको बत्ती बाल्ने महिनाको मङ्गलबार समापन भएको छ । धार्मिक महिनाका रुपमा समेत चिनिने साउनलाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरालगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ । 

साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान् बैकुण्ठमा बस्ने गर्छन् ।” 

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । यसअघि बैतडीका विभिन्न स्थानमा खीरपुजासमेत गरिएको थियो । 

साउन १ गतेदेखि सुरु भएको पुजाआजा साउन १५ गते मठमन्दिरमा बिषेश पुजाआजा गरी खीरपूजा गर्ने गरिन्छ । जिल्लामा रहेका रौलाकेदार, सिगास, ग्वाल्लेक, महारुद्र मन्दिर लगायतका धार्मिकस्थलमा साउन १५ गतेका दिन खीरपूजा गरिएको थियो । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ । यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजाआराधना गर्छन् । 

साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन् । साउनमा महिला हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन् । यससँगै साउनको महिनादेखि चाडपर्व सुरु भएको समेत मानिन्छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy