Ads

Sunday, August 28, 2016

श्रीमती सघाउने श्रीमानको नाउँमा

Posted By: Samsung - 5:18 AM

उनी खुइँखुइँती साबुन लगाएर लुगा मिच्थे अनि मलाई पखाल्न दिन्थे।
 
हामी घरपछाडि फराकिलो आँगनमा थचक्क बसेर लुगा धुन खटिएको एक घन्टा भइसकेको थियो। लुगा धुने बाटामा सबभन्दा माथि मेरै साडी थियो। मेरा श्रीमान त्यो साडी तानेर साबुन लगाइरहेका थिए।
 
त्यत्तिकैमा छिमेकका भाइ आइपुगे।
 
‘बाफ रे, बिहेपछि लुगा धुने पहिलो मर्द भेटेँ,’ उनले अलि खिस्याउँदै भने, ‘त्यो पनि श्रीमतीसँग!’
 
हामी लुगा धोएको हेरिरहेकी मेरी सासूले त झन् खित्का छाडेरै भनिन्, ‘यो त यस्तै हो के बाबु, मेरो लुगा पनि पहिल्यैदेखि धुन्थ्यो। कान्छी बुहारीले खुब सुख पाउँछिन्, जे काममा पनि सघाउने बानी छ यसको।’ 
 
नयाँ बेहुला–बेहुली हेर्न आइपुगेका ती छिमेकी भाइ श्रीमतीको लुगा धुने श्रीमान र त्यसमा आपत्ति नमान्ने सासू देखेर जिल परेर फर्किए। 
 
त्यो दिन हाम्रो बिहे भएको ठ्याक्कै नौ दिन पुगेको थियो।
***
बिहेको मिति तोकिएको २० दिनअघि उनलाई मैले फोन गरेर सिधै भनेको थिएँ, ‘मलाई भर्खरै एउटा कुराको टुंगो लगाउनुछ।’
 
उनले विस्तारै भने, ‘अँ भनन।’ 
 
‘तपाईंको घरमा सुत्ने पलङ छ कि छैन?’
 
‘छ।’ 
 
‘दराज नि?’
 
‘छ।’
 
‘अनि सोफा?’
 
‘छ।’
 
‘टिभी, फ्रिज, कपसेट पनि त होला?’
 
‘सबै छ हजुर।’ 
 
उनको जवाफ सुनेपछि मैले आफ्नो निर्णय सुनाएँ, ‘ओके, त्यसो भए म मेरो आमालाई दाइजोको चिन्ता नगर्नू, हुनेवाला ज्वाईंको घरमा सबै रैछ भन्दिछु है, अब खापेर राख्न किनि चाहियो दाइजो, हैन?’
 
उनले भने, ‘हे भगवान! यो दाइजोको कुरा कहाँबाट आयो, मलाई केही चाहिँदैन, चाहिएको बाआमाको छोरी मात्रै हो।’
 
फेरि सोधेँ, ‘आर यु सियोर! (साँच्चै हो)’
 
उताबाट सहमतिसहितको उत्तर आयो, ‘नो डाउट! (कुनै शंका छैन)’
 
हामीले दाइजोबिनै बिहे गर्ने निश्चित भो। आफन्तले भने गनगन गर्न थाले, ‘केटी नपाउन्जेल केटोले जे पनि हुन्छ हुन्छ भनिहाल्छ नि, पछि हाम्री नानीलाई हेला होला है, एकसरो सामान त दिनैपर्छ।’ 
 
हामीले कसैको कुरा सुनेनौं। बिहे भो, दाइजो बिनै। दाइजोको नाममा धागोधरि नल्याउने केटीसँग बिहे गर्यो भनेर उनले पनि कतिको खप्की खाए होलान्! के के सुन्नुपर्यो होला! त्यो कुरा उनले मलाई आजसम्म भनेका छैनन्।’ 
 
म बेहुली भएर भित्रिएको पहिलो दिन उनले भने, ‘म तिमीलाई जिन्दगीमा कहिल्यै मेरो खुट्टा ढोग्न दिन्नँ, अरूलाई ढोगाउँदा मलाई नराम्रो फिल हुन्छ।’
 
एकछिन थामिए अनि फेरि भनेँ, ‘एउटा कुरा याद गर्नु, मेरो लागि यो काम श्रीमतीले गर्ने, त्यो काम श्रीमानले गर्ने भन्ने कुनै बारबन्देज छैन। जुनसुकै काम हामी दुवैले गर्ने हो, मिलेर।’ 
 
नभन्दै म भोलिपल्ट उठेर नुहाइधुवाइ गरेर फर्किंदा उनले कोठा चिरिचट्ट पारिसकेका थिए। सरफाइमा खटिएका नयाँ बेहुला देखेर म तीनछक परेँ। अघिल्लो दिन बिदा गरेकी छोरीको चिन्ताले सुर्ताइरहेकी आमाको फोन आयो, ‘के गर्दै छौ?’
 
‘भर्खर नुहाएर बसिरा,’ मैले जवाफ दिएँ।
 
‘अनि ज्वाईं नि?’ आमाले सोधिन्।
 
‘बिहेको घर भद्रगोल छ, सफासुघर गर्न लाग्नुभा छ,’ मैले भनेँ।
  
आमाले अलि ठूलो स्वरमा भनिन्, ‘काम जति ज्वाईंले गरेसी तँ के गर्छेस् त?’
 
‘खै अब ज्वाईंलाई नै सोध्नुस् न,’ मैले हाँस्दै उत्तर दिएँ।
 
उता आमा पनि हाँस्न लागिन्। 
...
 
 
म आमा एक्लैले घर धानेको हेरेर हुर्केकी हुँ। बाले घरायसी काममा सघाएको मैले कहिल्यै देखिनँ। आमा दिनभरी खेतबारीमा खट्थिन्। साँझ घर फर्किंदा बढेमानको भारी बोकेर आइपुग्थिन्। आङको भारी बिसाउनेबित्तिकै बस्तुभाउ र भातभान्सा सुरु हुन्थ्यो। साँझ–बिहान फुर्सद हुने मेरा बाले कुनै दिन पनि पकाइतुल्याई गरेनन्।
 
श्रीमतीले भात पकाइसकेर कतिखेर बोलाउलिन् र खाउँला भनेर कुरेर बस्थे। त्यो क्रम अझै जारी छ।
 
आमा कहिलेकाहीँ दिक्क मानेर मसँग दुख पोख्नुहुन्थ्यो, ‘लोग्नेमान्छेले पनि घरको काममा सघाए पो कतै निस्कन पाइन्छ। आफूलाई त बाहिर फेर कतै निस्कनपर्यो भने सबै धन्दा सकेर निस्कँदा आधा दिन गइसक्छ। अनि फेरि घर फर्किनकै हतार।’ 
 
कोही अपवादबाहेक मेरा बा, हजुरबुबा, ठुलोबुबाहरू, काकाहरू, भाइहरू, मामाहरू, भिनाजुहरू घरको काम श्रीमती वा केटीमान्छेले नै गर्ने हो भनेर सोच्थे र सोच्छन्। उनीहरूमध्ये कति त आफूले खाएर उठेपछि त्यही थालमा श्रीमतीले पस्किएर खाएको मन पराउछन्। 
 
एकाबिहानै ब्रसमा मन्जन हालेर हातैमा टक्राएको खुसी मान्छन्। नुहाइधुवाइका लागि कट्टु, तौलिया, साबुन वा अरू चाहिने चिजबिज सबै ठिक्क पारिदिएको मन पराउँछन्। उनीहरू सबैले त्यसै गरिदिएको पनि देखेकै छु। नुहाइसकेर बाथरुमको कुनामा खोलेर राखेको कट्टु अरूले नधोइदिए बाथरुममै कुहाउने तर आफू मरिगए नधुने पनि छन्।  
 
सँगसँगै पत्रकारिता सुरु गरेकी एउटी साथीले बिहेपछि श्रीमानको सहयोगबारे नमज्जा मान्दै सुनाइन्, ‘मेरो श्रीमान भन्छन्, म तिम्रो लागि जे पनि गर्न तयार छु, जेसुकै काम लगाऊ सबै गर्न तयार छु, तिम्रो फरिया धुन मलाई कुनै आपत्ति छैन, तर मेरो आमाले देख्न भएन, छरछिमेकले देख्न भएन। त्यो तिम्रो र मेरोबीचमा मात्रै सीमित होओस्। उनले थपिन्, त्यसरी लुकिछिपी गरेको सहयोगले मजै नआउने, त्यसैले म त आफैं गर्छु सबै काम।’
 
कामको बोझ र घरव्यवहारले थलिएर उनले सोचेजस्तो प्रगति गर्न सकिरहेकी छैनन्।  
 
तर, यता एउटा यस्तो श्रीमान जसलाई घरको काममा झिँजो लाग्दैन, अरूले यो भन्लान् त्यो भन्लान् भन्नेमा कहिल्यै वास्ता गर्दैनन्। उनी तन्ना, सिरकको खोल यस्तो मजाले निचोरी निचोरी धुन्छन् नि, हेर्दै रहरलाग्ने!
 
उनले खास एकदमै ठूलो काम गरिदिएको त होइन, फुर्सद बेला सघाएका मात्रै हुन् तर त्यसले आधा बोझ घट्दो रहेछ। बिहेपछि घरव्यवहार र कामको बोझले जागिर छाडौं कि परिवार भन्ने दोधारमा पर्नु नपर्ने रहेछ।
 
एकदिन मैले श्रीमानलाई जिस्काउँदै सोधेँ, ‘घरको काममा त पूरै सघाउनुहुन्छ, यो सुरु सुरुको नक्कल हो कि साँच्चै हो?’
 
भाँडा माझिरहेका उनले जवाफ दिए, ‘हेर्दै जाउ न थाहा भैहाल्छ नि।’
 
श्रीमानको जवाफले चित्तै बुझेन, सासूसँग सोधेँ, ‘आमा, छोराले त जे काममा पनि सघाउनुहुन्छ, पहिलादेखि नै यस्तै हुनुहुन्थ्यो कि अहिले मात्रै?’
 
सासूले भनिन्, ‘यसको बानी यस्तै छ, पहिल्यैदेखि घरको काममा सघाउँछ, सबै काम गर्ने भएर होला केही अप्ठेरो पनि नलाग्ने। हामीले पनि छोरा हो यस्तो नगर भनेनौं।’
...
 
 
बिहे भएको दुई वर्ष पूरा भएपछि अहिले म श्रीमानसँग अमेरिकामा बस्न थालेकी छु। 
 
कहिलेकाहीँ नजिकका आफन्तलाई खाना खान बोलाउँछौं। त्यो बेला श्रीमान नै खाना बनाउन अघि सर्छन् र म उनलाई सहयोग गर्छु। उनी कामबाट फर्किएपछि पनि ढसमस्स बस्दैनन्। केही न केही काममा सघाउन आइपुग्छन्। हामी सबै काम मिलिजुली गर्छौं। 
 
कामबाट फर्किएपछि मोबाइल चलाउँदै एकै ठाउँ घन्टौं बस्ने पुरुषहरू प्रशस्तै छन्। बरु एउटै फोटो दसफेर हेर्छन्, फेसबुकमा घन्टौं झुन्डिएर बस्छन् तर कामबाट सँगसँगै फर्किएकी श्रीमतीलाई भान्सामा तरकारी काट्न सघाउँदैनन्। 
 
यता अमेरिकामा राति १२ बजे कामबाट फर्किएर श्रीमानलाई पकाएर खुवाइरहेकाहरू सुनाउँछन्, ‘उहाँलाई भात नै पकाउन आउँदैन त, अनि के गरुँ?’
 
मैले भनेँ, ‘अनि भात खान नि?’
 
‘हा हा .....आउँछ त्यो त!’ 
 
‘त्यसो भए पकाउन पनि त जान्नपर्यो नि।’ 
 
उनीहरू निराश भएर भन्छन्, ‘कति भन्ने, के भन्ने!’
 
जागिरे श्रीमतीको कमाइ र काम दुवैमा मोज गर्ने पुरुषका श्रीमतीहरू बिहेपछि बोझिलो जिन्दगी बाँचिरहेका छन्। तर मेरो लागि बिहे कहिल्यै भारी भएन। कामको बोझले यो गर्न सकिनँ, त्यो गर्न सकिनँ भन्ने कुरा मनमा आउन पनि पाएन। सहयोगी श्रीमानजस्तो ठूलो अरू केही नहुने रहेछ। 
 
घरको काम हामी दुवै मिलेर गर्छौं। मेरो पढाइ र मैले गर्न सक्ने काममा श्रीमानको सहयोग र प्रोत्साहन मिलिरहेको छ। मैले पनि त्यसै गरिरहेकी छु।
 
व्यस्त दैनिकीमा पनि फुर्सदको समय घरायसी काममा सघाउने श्रीमान दुनियाकै सुन्दर, असल, ज्ञानी र सम्पन्नशाली हुन्।
 
यस्ता उत्कृष्ट श्रीमानहरूलाई नमन्।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy