Ads

Monday, August 29, 2016

जिमखानामा एमाले सचिव

Posted By: Samsung - 7:23 AM
एमालेमा सक्रिय युवानेताको छवि बनाएका योगेश भट्टराईका प्राय: हरेक दिन राजनीतिक कार्यक्रममै बित्छ। पार्टीको भेटघाट, बैठक र छलफलमै भ्याइनभ्याइ हुने उनले आइतबार बेलुकी भने आफ्नो अलि पृथक तस्बिर फेसबुकमा पोस्ट गरे।
उक्त तस्बिरमा एमाले सचिव भट्टराई शारीरिक व्यायाम गरिरहेका थिए। त्यो पनि घरको कोठाभित्र गरिने सामान्य व्यायाम होइन, जिमखानामा व्यावसायिक प्रशिक्षकको मातहत रहेर गरिने जिम।
नारायणहिटी उत्तरढोकाको 'वाइल्डनेस क्लब'मा जिम गरिरहेको तस्बिर पोस्ट गर्दै उनले यो पनि लेखेका छन्, ‘क्लबमा श्रीजेश श्रेष्ठ गुरु छन्। साह्रै मेहनत गरेर हामीलाई एक्सरसाइज गराउँछन गुरुले। यसो अल्छी लागेर ठग्न खोज्यो, मुसुक्क हाँसेर जिस्क्याउँछन्, कुरा बुझिहाल्नुपर्यो। फेरि आफ्नै लागि त हो नि भन्यो, खुरुखुरु आदेश पालना गर्यो।’
भट्टराईले फेसबुकमा दुनियाँलाई देखाउन मात्र यो तस्बिर खिचाएका होइनन्। स्वास्थ्यप्रति उनको सजगता पुरानै हो। उनको दैनिकी नै यही जिमखानाबाट सुरु हुन्छ। जहाँ उनका गुरू श्रीजेश श्रेष्ठले उनलाई जिममा मद्धत गर्छन्। एक घन्टा अभ्यास गरेपछि पसिनै पसिना भएर क्लबबाट निस्किन्छन् र आफ्नो नियमित र राजनीतिक क्रियाकलाप सुरु गर्छन्। 
‘म बडी बनाउन क्लब गएको होइन,’ उनले सेतोपाटीसँग भने, ‘शरीरलाई तन्दुरुस्त राख्नलाई जाने हो।’
बिहान जिम गएपछि शरीरमा ‘स्टामिना’ बढ्ने मात्रै नभएर दिमाग पनि फ्रेस हुने उनको अनुभव छ। ‘पहिले पहिले छिटो रिस उठ्थ्यो, बाझ्ने-झगडा गर्ने हुन्थ्यो,’ उनले अनुभव सुनाए, ‘एक्सरसाइजले दिमाग कुल राख्छ।’
काठमाडौं हुँदा उनी सकेसम्म नियमित रुपमा क्लब पुग्ने गरेका छन्। तर, राजनीतिक कार्यक्रममा काठमाडौं बाहिर बाक्लै गइरहनुपर्ने हुँदा उनी नियमित क्लब पुग्न भ्याउँदैनन्। काठमाडौं बाहिर हुँदा उनी क्लबमा गर्ने साधारण अभ्यास गर्छन्। कतै 'मर्निङ वाक'मा पनि निस्किन्छन्। 
काठमाडौंमा चाहिँ किन मर्निङ वाक नगर्ने त?
उनले तीनवटा कारण बताए। 
पहिलो, काठमाडौंको धूलो। काठमाडौंको धूलो र प्रदुषणका कारण बिहान हिड्दा स्वास्थ्य राम्रो हुनेभन्दा बिग्रिने खतरा छ। 
दोस्रो, कहिलेकाहीँ त यति धेरै मानिससँग भेट हुन्छ, ‘मर्निङ वाक’ ‘मर्निङ गफ’ मा सीमित भइदिन्छ। राजनीतिका कुरा, पार्टीका कुरा, साथीभाइ र परिवारका कुरा गर्दा गर्दै समय यसै बितिजान्छ। बाटोमा भेट हुनेसँग नबोली हिँड्नु भएन। बोल्न थाल्दा हिँड्न पाइँदैन। 
तेस्रो, जिममा अरु ‘काउन्सिलिङ’ पनि हुन्छ। कति अभ्यास गर्दा के हुन्छ, कति अभ्यास गर्नु आवश्यक हुन्छ भन्ने गुरुले सिकाउँछन्। त्यसैले पनि जिम जानु राम्रो हुन्छ। 
योगेशले 'मर्निङ वाक'को सट्टा जिम छान्नुका कारण पनि यिनै तीनवटा हुन्। 
जिम गर्न थाल्नुअघि उनी ‘डान्स क्लास’ जाने गर्थे। तीन वर्ष बिहान बिहान नाचेपछि दुई वर्ष अघिदेखि जिम जान थालेका हुन्। समयको कुरा गर्ने हो भने नाच्नु र जिम जानु उस्तैउस्तै हो उनका लागि। तर, तीन वर्ष नाचेपछि जिम जान मन लागेर नाच्न छाडेको उनको भनाइ छ।
चाहे जिम होस् वा नृत्य, यस्ता खालका शारीरिक परिश्रम पर्ने गतिविधिले मान्छेको एकाग्रता र सक्रियतासमेत बढाउने उनको भनाइ छ। उनी युवा पुस्तालाई पनि नियमित रुपले यस्ता गतिविधिमा लाग्न प्रेरित गर्छन्। युवा अवस्थामै जिम जाने बानीले कुलतमा लाग्ने सम्भावना कम हुने उनी बताउँछन्।
‘यसले तपाईंको कामको गुणस्तरमै सुधार ल्याउँछ,’ उनले भने।
उनले फेसबुकमा लेखेका पनि छन्, ‘स्वस्थ मानिसले नै स्वस्थ राजनीति गर्नसक्छ, कि कसो?’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy