Ads

Sunday, August 14, 2016

बन्दीपुरले प्राण पायो

Posted By: Samsung - 8:42 AM

मन्दिरको घन्टी र कुचो बढारेको खस्य्राक–खस्य्राक आवाजले निद्रा खुल्यो। होटलको कोठाबाट बाहिर बरण्डामा निस्किए। बन्दीपुरको मूल चोक सिनित्त थियो। चोकबीचको पध्म पुस्तकालयको झिँगटीको छानाबाट बाफ फुस्फुस् उड्दै थियो।
चोकपारि झिंगु गेस्ट हाउसको झ्यालबाट एक विदेशी पर्यटक पनि चोकको सुन्दरता नियाल्दै रहेछन्। हाम्रा आँखा जुधे। माथि कपडा नलगाएका उनी थचक्क बसे, घाँटी झ्यालबाहिर तन्काएर। चोकसँग रमाउन भने छाडेनन्।
म पनि चलमलाइनँ। चोकतिर फोनको क्यामेरा तेस्र्याएँ। दृश्यमा कैद भए– पध्म पुस्तकालयको प्राचीन भवन, त्यसपछाडि टुप्पोमात्र देखिएको विन्ध्यवासिनी मन्दिर, चोकपारि झिंगु गेस्ट हाउस, म बसेको होटलका बरण्डाका फूलहरू, चोकमा छापिएका ढुङ्गाका स्लेटहरू।
अनि कैद भइन् भर्खरै लट्ठी टेक्दै चोकमा आइपुगेकी, कपाल सेतै फुलेकी, गेरू बर्को ओडेकी एक वृद्धा। म दंग परे।
 धेरै बेरपछि कोठामा फर्किएँ। कोठाका हरेक चिज कलात्मक छन्। काठका दलिन, निदाल र थाममा कला कुँदिएको छ। नेवारी शैलीका झ्याल। पलङमा आगोको मुस्लो ओकलिरहेको चाइनिज ड्र्यागन कुँदिएको। आकाशदीपमा बत्ती झुण्डिएका छन्। नेवारी र तिब्बती कलाको सम्मिश्रण।
वि.सं.२००० सालमा बनेको ‘ओल्ड इन’ होटल बसेको यो घर बन्दीपुरको पुरानो वैभवको साक्षी हो। जुन समयमा बन्दिपुरे व्यापारी लोकनारायण पियाले यो तीनतले महल बनाएका थिए, त्यो समय बन्दीपुर वैभवको उत्कर्षमा थियो। लगभग सन् १८५० देखि १९५० सम्मको एक शताब्दी बन्दीपुरको स्वर्णकाल थियो।
भारत र ‘भोट’बीच व्यापारको एउटा प्रमुख केन्द्र थियो यो सहर। भारतबाट आउने लत्ताकपडा र अन्य सामान तथा भोटबाट आउने नुन, सुन, कस्तुरी, तिव्बती औषधीमुलो तथा राडीपाखीको ‘स्टोर हाउस’ थियो बन्दीपुर। यहाँका स्टोर हाउसबाट भारत तथा भोट दुवैतर्फ व्यापारी र भरियाको ताँती छुट्थ्यो। दक्षिणतर्फ हानिएकाहरू तीन घन्टामा हस्लाङ् हुँदै सेती खोला किनार सराङ्घाट पुग्थे। झोलुङ्गे पुल तरेर सिन्चाङको करिब ७ हजार फिट अग्लो डाँडो चढी गाईघाट झर्थे। गाईघाटमा डुङ्गा चढेर नारायणी तर्थे। त्यहाँबाट नारायणघाट, ठोरी, सिमापारि नर्कटियागञ्ज हुँदै भारतका व्यापारिक सहर कानपुर, कलकत्ता, मुम्बईसम्म पुग्थे बन्दीपुरे व्यापारी– सामान र सपना बोकेर।
बन्दीपुर उत्तर लागेका व्यापारीहरूका लागि तनहुँ, कास्की, गोरखा, मनाङ र पूर्वी पाल्पा ठूलो बजार थियो। गोरखा र लमजुङको उत्तरी सीमा काटेर उनीहरू भोट र भारतको व्यापार जोड्थे।
करिब ७० किलोमिटर दक्षिणपूर्वमा आजको भर्भराउँदो नारायणगढ सहर अस्तित्वमै थिएन। उत्तिकै दुरीमा रहेको पश्चिमी सहर पोखराको तुलना पनि व्यापारको मामलामा बन्दीपुरसँग हुन्थेन।
‘मैले थाहा पाउँदासम्म नुन, सुन र सामान लिएर भरियाहरू दोहोरीलत्ता यो बाटो हिँड्थे,’ मुख्य सहरबाट केही दक्षिण रहेको तीनधारामा ८१ वर्षीय विष्णुकुमार श्रेष्ठले भने। श्रेष्ठका पुर्खा पाँच पुस्ताअघि भक्तपुरबाट बन्दीपुर आएका हुन्। भक्तपुरमा भोजको भार थाम्न नसकेर बन्दीपुर झरेका हुन् रे उनका पुर्खा। ‘त्यो उखान छ नि, नेवार बिग्रियो भोजले... हाम्रो पुर्खा पनि त्यस्तै भोजले बिग्रिएर बन्दीपुर आएका हुन्,’ उनले भने।
भोज खुवाउन नसकेर र भोजको ऋण चुक्ता गर्न नसकेर बन्दीपुर झर्ने नेवार परिवार पनि नभएका होइनन् तर नेवारहरू मुख्य रूपमा भने व्यापार गर्नै बन्दीपुर झरेका हुन्। यो सहरमार्फत हुने व्यापारमा नेवारहरूको एक छत्र थियो। आज पनि मूल बजारका लगभग सबै घर प्रायः नेवारकै छन्।
व्यापार र ठेक्कापट्टापछि बन्दीपुरका व्यापारीहरूको आयको अर्को स्रोत थियो, मुद्राको कारोबार। त्यसबेला नेपाली मोहोर चाँदीको हुन्थ्यो भने भारतमा इस्ट इन्डिया कम्पनीले सामान्य धातुको मुद्रा चलनमा ल्यायो। त्यसबेला काठमाडौंमा ६० नेपाली मोहोरमा सय भारतीय मोहोर आउँथे। बन्दीपुरमा भने व्यापारीले ५८ नेपाली मोहोरमै सय भारतीय मोहोर किन्थे। दुई मोहोर फाइदा हुन्थ्यो।
पछिपछि उनीहरूले चाँदीका नेपाली मोहोर सिधै भारतका बजारमा बेच्न थाले। धन चुलिन थाल्यो।
भारतबाट धनसँगै आयो जागरण। भारतमा ब्रिटिस विरोधी आन्दोलन चुलिँदै थियो। पुस्तक छापिन्थे। पत्रपत्रिका प्रकाशित हुन्थे। विचार, वहस हुन्थ्यो। व्यापारीले किनमेलका सामानसँगै पुस्तक ल्याए, पत्रिका ल्याए। विचार र जागरण पनि सँगै ल्याए।

वि.सं. २००१ सालमै बन्दीपुरमा पुस्तकालय खुल्यो जसको नेतृत्व लिएका थिए कृष्णलाल प्रधान, रामप्रसाद खनाल ,कदमकुमार पिया र डा. मथुराप्रसाद श्रेष्ठले। (श्रेष्ठ २०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा सदस्य थिए।) पुस्तकालय खुल्ने कुराले राणाशासनमा हल्लीखल्ली मच्चियो। राणाहरूले बुझ्न काठमाडौंबाट टोली पठाए। पुस्तकालय खोल्ने नेतृत्व गरेका चारै जनालाई दुई दिनसम्म पुस्तकालयभित्रै बन्दी बनाएर केरकार गरियो। पुस्तकहरूको छानबिन सुरु भयो। पुस्तकालयका तत्कालीन सचिव डा.श्रेष्ठले सम्झेसम्म त्यहाँ महात्मा गान्धी, सुवासचन्द्र बोस र राममनोहर लोहियाका किताब थिए। माक्र्स र माओसम्बन्धी किताबहरू पनि थिए। रामायणका किताबहरू थिए। प्रेम चन्दका उपन्यास र कोकशास्त्र थिए। महादेवी वर्माले सम्पादन गरेको ‘लेफ्टिस्ट’ पत्रिका हंश र अर्को हिन्दी पत्रिका धर्मयुग थिए। ‘अनुसन्धान’पछि महात्मा गान्धीका सबै पुस्तक जफत गरियो। राणाहरू कांग्रेसलाई देखि सहँदैन थिए। त्यसैले ‘सोभियत कांग्रेस’ लेखिएको पत्रिका पनि जफत भयो। माक्र्सवाद र माओवादका पुस्तक अनुसन्धान टोलीको नेतृत्व गरेका सुब्बाले चिनेनन्। ‘के हो भनेर सोधे, हामीले धर्मसम्बन्धी पुस्तक हो भन्दियौं, बचे, श्रेष्ठले हाँस्दै सम्झना गरे।
 सबै पुस्तक हिन्दीका थिए– भारतबाट फर्किंदा व्यापारीहरूले ल्याएका र पुस्तकालयलाई चन्दा दिएका। केही पुस्तक जफत भए, केही बचे। पुस्तकालय सञ्चालन गर्ने अनुमति प्राप्त भएन।
धेरैपछि बन्दीपुरेहरू राणा प्रधानमन्त्री पध्मशमशेरलाई पुस्तकालय खोल्न पाउँ भनी बिन्ती चढाउन काठमाडौं आए। प्रस्तावित बन्दीपुर पुस्तकालयको नाम पध्म पुस्तकालय राख्ने बताए उनीहरूले। राणा प्रधानमन्त्रीले स्वीकृति दिए।
पुस्तकालय चेतनाको सुरूआत थिएन, त्यसको परिणति थियो। बन्दीपुरमा वि.सं. १९७६ मै बन्दीपुर पाठशाला खुलेको थियो। नेपाली पढाइ हुन्थ्यो, प्रथमदेखि पञ्चमसम्म। ‘पढ्ने अरू ठाउँ थिएन, त्यसैले हामी पञ्चम् पुगेपछि फेरि प्रथमदेखि नै पढ्थ्यौं,’ बाल्यकाल सम्झिएर कुत्कुतिँदै हाँसे ७९ वर्षीय श्रेष्ठ।
यही बन्दीपुर पाठशालाले ठूलो काम गरेको थियो, सामाजिक राजनीतिक जागरणमा। पुस्तकालय खुल्नुअघि नै बन्दीपुर युथ क्लब खुलेको थियो। ४० जना युवक र तीन युवती सदस्य थिए। ती तीन युवतीमध्ये एक हुन्, गोरखाकी पूर्वसांसद मैँयादेवी श्रेष्ठ।
बन्दीपुर युथ क्लब एक हिसाबले क्रान्तिकारी संस्था थियो। यसका सबै सदस्यले हातका औंला चिरेर रगतले सही गरी सदस्यता लिएका थिए। सांस्कृतिक, सामाजिक र राजनीतिक जागरणका लागि काम गर्ने उनीहरूको प्रण थियो। केही समयपछि यही समूहले ‘तमसुक फट्टा’ आन्दोलन चलायो। समूहका थुप्रै युवाले आफ्नै बाउबाजेले गरिबहरूसँग गरेको तमसुक जलाए। कृष्णलाल प्रधान र कदमकुमार पिया यो अभियानको  नेतृत्वकर्ता थिए।
यही सामाजिक र राजनीतिक जागरण पछि गएर राणाशासन विरोधी आन्दोलनमा परिणत भयो। बन्दीपुरमा जनसरकार गठन भयो। कृष्णलाल जनसरकारका विज्ञानमन्त्री भए। ८३ जना युवा सम्मिलित मुक्तिसेना बन्यो जसले ११ सय सेनाको नेतृत्व गरेर पोखरामा बसेका राणा जर्नेल धनशमसेरलाई आत्मसमर्पण गर्न बाध्य पार्‍यो।
राणाशासन ढल्यो। युग बदलियो
यो नयाँ युग आफ्ना लागि कति विस्मयकारी हुनेछ भन्ने बन्दीपुरले भेउ पाएन। समय,काल र परिस्थिति यसरी बदलियो, त्यसलाई रोक्नसक्ने तागत बन्दीपुरसँग थिएन।
चीन माओत्से तुङको कब्जामा गइसकेको थियो। केही समयपछि चीनले तिब्बत गाभ्यो। भोटसँगको आउजाउ र व्यापार नियन्त्रित हुन थाल्यो।
बन्दीपुरले पहिलो, हल्का झट्का खायो।
सरकारले २००७ सालमा चितवनमा वन फँडानी र पुनर्वास सुरु गर्‍यो। बन्दीपुरका धेरै टाठा–बाठाले चितवनमा जग्गा लिए। राणा शासन अन्त्यसँगै बाटाघाटा थोरै भए पनि विस्तार हुन थाले। मानिसको ध्यान अग्रणी सहर काठमाडौं र बन्दीपुरबाट अन्यत्र पनि तानिन थाल्यो। २०२५ सालमा सबैलाई पायक पर्ने भन्दै तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सारियो। बन्दीपुरको अधोगतिका लागि दोस्रो झट्का थियो त्यो।
२०२८ सालमा पृथ्वी राजमार्गलाई काठमाडौंसँग जोड्ने पुल मुग्लिङमा बनेपछि बन्दीपुर उत्तरका ६ जिल्लालाई नारायणगढ हुँदै मधेस र भारत जान बन्दीपुर उक्लिरहनुपर्ने बाध्यता रहेन। धेरेको जीवन सहज पारेको मस्र्याङ्दीको पुल बन्दीपुरका लागि अर्काे झड्का भयो।
मानव निर्मित विकासले पछि पार्दै लगे पनि बन्दीपुरलाई प्रकृतिले साथ छाडेको थिएन। समुद्र सतहबाट ११ सय मिटरमाथि हावा चिसो र वातावरण स्वच्छ थियो। मधेसका जिल्लाहरू औलोले ग्रस्त हुँदा बन्दीपुर ‘मलेरिया फ्री’ थियो। त्यो नै सायद बन्दीपुरको सबभन्दा ठूलो विशेषता थियो। २०३० सालसम्म आइपुग्दा बन्दीपुरको त्यो विशेषता पनि छिनियो। अमेरिकीले डिटिटी छर्न थालेपछि तराईमा औलो नियन्त्रणमा आउन थाल्यो। त्यसपछि ‘विकट’ बन्दीपुर जानैपर्ने, बस्नैपर्ने, पुग्नैपर्ने कुनै कारण बाँकी रहेन।
बन्दीपुरमाथि अन्तिम बज्र प्रहार परेको थियो।
अब त बन्दीपुरेले नै बन्दीपुर छाड्न थाले। ‘मुख्य चोकका प्रायः सबै घरमा आग्ला ठोकेर व्यापारीहरू कि नारायणघाट झरे, कि काठमाडौं–भक्तपुर फर्किए। एउटा परिवार, अर्को परिवार गर्दै बन्दीपुर छाड्नेको लर्को लाग्यो। ‘करिब ६० प्रतिशत बन्दीपुरेले बन्दीपुर छाडे,’ तीनधाराका स्थानीय रामशरण श्रेष्ठ भन्छन्।
स्थानीय शिक्षक लक्ष्मीनारायण भट्टराईका भनाइमा धेरै सम्पत्ति हुनेले पनि बन्दीपुर छाडे, केही नहुनेले पनि।‘बन्दीपुरमा थोरै जायजेथा भएका, त्यो पनि छाड्न नसक्ने र बाहिर गएर केही गर्ने आँट पनि नभएकाहरू यहीँ थन्किए,’ भट्टराईले भने।
व्यापार सुक्यो। बन्दीदपुर डाँडामा खेती कहिल्यै  राम्रो भएन, पर्यटन सुरु भएकै थिएन। बन्दीपुर सुनसान हुन थाल्यो। निस्प्राणझैं भयो एउटा जलमलाउँदो सहर। बन्दीपुर उत्कर्षमा हुँदा मूल बजारको दुवैतिर दाँतझैं टम्म मिलेका ६० वटा कपडापसल मात्रै थिए। सबै उठे।
‘हामीलाई कात्रो बेच्न एउटा पसल चाहिँ बसिरह्यो,’ भट्टराईले भने, ‘सहर साँच्चै मृत्युशैैय्यामा पुग्यो।’
...
सौभाग्यवश त्यो पसलले सहरलाई भने कात्रो ओढाउन पाएन।
सहर बौरियो।  
जोजो बन्दीपुरमा बाँकी थिए, उनीहरूले निधो गरे, अब घोर निराशामा बसेर भएन। केही गर्नुपर्‍यो। बन्दीपुरको पुनर्जीवनका लागि उनीहरूले शिक्षालाई रोजे। चेतनाको विरासत उनीहरूसँग छँदै थियो। ‘गोरखामा नोटे«ड्याम मिसन स्कुल चलाइरहेका ‘फादर शर्मा’लाई हामीले अनुरोध गर्‍यौ– यो ऐतिहासिक सहर जोगाउन एउटा स्कुल खोल्नुपर्‍यो,’ भट्टराईले भने।
फादर शर्मा राजी भए। २०४२ सालमा विद्यालय सुरु भयो। नोटेड्यामका जापानी र अमेरिकी स्वयम्सेवीले लगनका साथ पढाउँथे। शिक्षाको गुणस्तर अब्बल थियो। नोट्रेड्यामबाट आजसम्म पनि कोही दोस्रो श्रेणीमा पास भएका छैनन्। विस्तारै नोटेड्यामको कृति फैलियो। छिमेकी जिल्लाबाट पनि विद्यार्थी आउन थाले। ८ सय–हजारसम्म विद्यार्थी हुन थाले।
बन्दीपुरले प्राण पायो। हराएको विश्वास भेट्टायो।
व्यापारीहरूले बन्दीपुर छाडेका भए पनि जग्गा बेचेका थिएनन्। माया मारेका थिएनन्। काठमाडौं र नारायणगढमा व्यवसाय जमाएका केही बन्दीपुरेले पर्यटनमार्फत बन्दीपुरलाई उकास्ने अठोट गरे।
बन्दीपुरमा रिसोर्ट खुल्न थाले। सौराहास्थित आइल्यान्ड रिसोर्टका मालिक सन्तकुमार श्रेष्ठले माउन्टेन भ्यु रिसोर्ट खोले। सन् २००१ मा हिमालय इन्काउन्टर्सका नीरज श्रेष्ठ र बेलायती नागरिक तथा एड्भेन्चर ट्राभल्स र टुर्स व्यवसायी टोनी जोन्स मिलेर बन्दीपुरको मूल चोकमै ‘ओल्ड इन’ होटल खोले।
हिमालयन इन्काउन्टर्स सन् ८० को दशकमा वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ (निरजका बाबु), कर्ण शाक्य र जोन्स मिलेर खोलका थिए। हिमालय इन्काउन्टर्सले पर्यटकलाई काठमाडौंबाट पोखरा पुर्‍याइरहन्थो। कतिपयलाई बन्दीपुर पनि लगेर राख्न थाल्यो। विस्तारै विदेशी पर्यटकको चासो र उपस्थिति बढ्न थाल्यो।
पृथ्वी राजमार्गको डुम्रेबाट ८ किलोमिटर चढ्नुपर्ने बन्दीपुर जाने बाटो भने राम्रो थिएन।‘खाल्डो परेको कच्ची बाटोमा धेरै पछिसम्म सामान ओसाथ्र्यौं  हामी,’ ओल्ड इनका म्यानेजर राम श्रेष्ठले भने।
२०५३ सालमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला बन्दीपुर आए। बन्दीपुर उनका विश्वासपात्र गोविन्दराज जोशीको चुनाव क्षेत्र थियो। बन्दीपुरेले कोइरालासँग माग राखे– ‘यो सहरको पुनर्उत्थानका लागि डुम्रे–बन्दीपुर सडक पक्की बनाइदिनुपर्‍यो,।’
दिउँसो टुँडिखेलमा आमसभा थियो। कोइरालाले उनकै शैलीमा भाषण ठोके, ‘यो नाथे ८ किलोमिटर सडक भर्खरै पिच गर्न लाइदिन्छु।’ बन्दिपुरे हर्षित भए।
एक वर्ष बित्यो, दुई वर्ष बित्यो। सडक कालोपत्रे भएन। २०५६ साल आमनिर्वाचनको वर्ष थियो। जोशी र कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई जिल्लावासीले र्‍याख्र्‍याख्ती पारे, ‘खै त तिम्रा नेताले दिएको आश्वासन पूरा भएको ?’
कोइरालाको कानमा गुनासो पुग्यो। उनी प्रधानमन्त्री थिए। तुरुन्तै बाटो पक्की गर्न उर्दी दिए। अहिले डुम्रे–बन्दीपुर सडकखण्ड लोभलाग्दो छ। करिब १५ मिनेटमै ६ सय मिटर उक्लने यो बाटोको ‘ड्राइभ’ रोमाञ्चक लाग्छ।
बन्दीपुरको पर्यटनले चोला फेरेको भने २०५६ सालपछि मात्र हो। यो साल युरोपियन युनियनको सहयोगमा इको कल्चरल टुरिजम् प्रोजेक्ट सुरु भयो। त्यसको अध्यक्ष बनाइए, भानु माध्यमिक विद्यालयमा २९ वर्ष शिक्षण गरी केही वर्षअघि अवकाश लिएका शिक्षक लक्ष्मीनारायण भट्टराई। भट्टराईको पुर्खा १५ पुस्ताअघि बन्दीपुर आएका थिए। उनलाई बन्दीपुरप्रति औधी लगाव र माया थियो।
‘म भर्खरै रिटायर्ड भएको थिए। भगवान नमान्ने, ढुङ्गापूजा नगर्ने। तर, समाजको लागि केही गरांै भन्ने थियो,’ उनले सम्झिए।
इको टुरिजम् प्रोजेक्टको संयोजक भएपछि भट्टराई लागि परे। ‘बन्दीपुरको मुहार फेर्ने यो राम्रो अवसर हो भन्ने मलाई लाग्यो,’ उनले भने।
५० लाखको यो आयोजना अन्तर्गत स्थानीयको सहयोगमा २२ वटा विभिन्न काम भए। यी काममध्ये बन्दीपुर पुनर्उत्थानका लागि सबैभन्दा दुरगामी कदम भयो– मूल सहर छिर्ने बाटोमा तेस्र्याइएको एक फिट अग्लो पर्खाल। यो पर्खालले सहरभित्र सवारीसाधन लैजान बन्देज गरेको छ।
‘साँच्चै बन्दीपुरलाई अलग पहिचानको सहर बनाउने भए सवारी साधन निषेध गरेर सडकमा ढुङ्गाका स्लेट छाप्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका थियौं,’ भट्टराईले सम्झिए।
धेरै राम्रो कामजस्तै यसको पनि विरोध भयो। मूल बजारमा भर्खरै फर्किन थालेका व्यापारीहरू व्यापार सुक्ने डरले सशंकित भए। पर्खाल लाउने र ढुङ्गाको स्लेट छाप्ने कामको धुँवादार विरोध भयो। यो योजना असफल बनाउने निर्णय गरे उनीहरूले। ढुङ्गा छाप्ने काम सुरु हुने दिन कार्यक्रम बिथोल्न सहरका ५० जनाजति युवाको समूह बन्यो।
स्लेट छाप्ने पक्षधरले बुद्धि लगाए। जनान्दोलन सकेर नेकपा माओवादी भर्खरै खुला राजनीतिमा आएको थियो। उसको धाकका अगाडि कोही टिक्दैन थिए। उनीहरूले तनहुँ क्षेत्र नम्बर दुईका माओवादी नेता भुमिनन्द लामिछानेलाई हात लिए। लामीछाने सहमत भए। उनलाई शिलान्यास समारोहका दुई प्रमुख अतिथिमध्ये एक बनाइयो। लामिछानेले कसैले विरोध गरे ठीक नहुने र माओवादी पार्टीले ‘देखाइदिने’ भाषण गरे। विरोधकर्ताहरू हटे। काम विस्तारै अघि बढ्यो।
‘हामी पढेलेखेका मानिस लाठीमुङ्ग्री गर्नसक्ने कुरा थिएन,’ भट्टराईले भने, ‘लामिछानेले बोली मुङ्ग्री गरेर भ्याइदिए।’
बाटोसँगै मूल बजारका मन्दिर र सार्वजनिक भवनहरूको जिर्णोद्धार भयो। पध्म पुस्तकालयको जस्ताको छानो निकालेर झिँगटी हालियो।  विन्ध्यवासिनी मन्दिरको सिमेन्टको पर्खाल हटाएर परम्परागत इँटाको लगाइयो। अरु पनि सार्वजनिक भवनहरूले मुहार फेरे। मूल चोक लोभलाग्दो भयो।
आज बन्दीपुर बजारमा गाडी नछिर्ने नेपालको एकमात्र मौलिक सहर भएको छ। बाह्य र आन्तरिक पर्यटक आकर्षित भएका छन्। उहिलेका कपडा पसल र स्टोर हाउसहरूको ठाउँमा सडकको दुवैपट्टी होटल र रेस्टुरेन्ट खुलेका छन्।
स्तरीय होटल र रिसोर्ट १५ वटा जति छन् यहाँ। साढे एक घन्टामा सिद्धगुफा पुगिन्छ, दुई घन्टा पश्चिम हिँडे पुरानो मगर गाउँ रामकोट। तीन घन्टा दक्षिण झरे सेती किनार, एक घन्टा उत्तर झरे मस्र्याङ्दी। पर्यटकका लागि रमाइलो घुम्ने ठाउँ भएको छ बन्दीपुर।
बन्दीपुरले विगतको वैभव भेट्न सम्भव छैन। त्यो लालसा पनि देखिँदैन बन्दीपुरवासीमा। वर्तमानको सौन्दर्य चेत भने भरपूर छ यो सहरलाई। त्यहाँ जाने प्रत्येक पर्यटकले, हरेक दिन त्यो सौन्दर्यको स्मरण गराउँछन् बन्दीपुरलाई।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy