Ads

Wednesday, August 17, 2016

बढी आयकर बुझाउने २५ कम्पनीमध्ये १७ बैंक

Posted By: Samsung - 6:41 PM
भदौ २, काठमाडौं । गत आर्थिक वर्षमा सरकारलाई बढी आयकर बुझाउने कम्पनीमा वाणिज्य बैंकहरूको बर्चस्व देखिएको छ ।बढी आयकर तिर्ने २५ ठूला कम्पनीमा १७ वटा वाणिज्य बैंक छन् । अघिल्लो वर्षजस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर एनसेलले बुझाएको छ भने दोस्रोमा सरकारी स्वामित्वको नेपाल टेलिकम छ ।

बैंकिङ क्षेत्रबाहेक क्षेत्रगत आधारमा बढी आयकर बुझाउनेमा एनसेल र नेपाल टेलिकम तथा व्यापारिक फर्ममध्ये सरकारी लगानीको नेपाल आयल निगम तथा निजी क्षेत्रको सिपर्दी ट्रेडिङ छन् ।

यस्तै मदिरा तथा सुर्तीजन्य उद्योगहरू गोर्खा बुअरी र सूर्य नेपाल अगाडि छन् । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण पनि बढी कर तिर्ने कम्पनीमा परेको छ । ऊर्जा क्षेत्रको हिमाल पावर पनि बढी कर तिर्ने कम्पनीको सूचीमा छ ।

स्वामित्व परिवर्तनमा लाभकर नतिरे विवादमा आएको एनसेलले सरकारलाई आयकरबापत मात्र २० अर्ब बुझाएको छ । यस्तै दोस्रो स्थानमा रहेको कम्पनीमा नेपाल टेलिकमले सात अर्ब रुपैयाँ आयकर तिरेको छ ।

सरकारलाई बढी आयकर बुझाउने १७ बैंक सबैले गत आर्थिक वर्षमा आफ्नो मुनाफा अर्बभन्दा बढी गरेका छन् ।

सबैभन्दा बढी आयकर नबिल बैंकले बुझाएको छ । नबिलले १ अर्ब ४५ करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको छ । खुद नाफाको आधारमा नबिल दोस्रो स्थानमा रहे पनि आयकर तिर्ने आधारमा बैंकहरूमा पहिलो स्थानमा छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ३४ करोड रुपैयाँ आयकर बुझाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गरे पनि सरकारी लगानीको नेपाल बैंकले भने १ अर्ब २५ करोड रुपैयाँ आयकर बुझाएको छ ।

आयकर बढी तिर्ने २५ ठूला कम्पनीले सरकारलाई गत वर्ष ४९ अर्ब रुपैयाँ बुझाएका छन् । संख्यात्मक रूपमा बैंकहरूको संख्या बढी भए पनि २५ ठूला कम्पनीले बुझाएको रकम हिस्साको आधारमा भने बैंकहरूले हिस्सा २६ प्रतिशत मात्रै छ । यी १७ बैंकले मात्र १३ अर्ब रुपैयाँ आयकरबापत बुझाएका छन् ।

ठूला २५ भित्र नपरे पनि बैंकहरूले आयकरबापत मात्र १५ अर्बभन्दा बढी रकम सरकारलाई बुझाएको छन् । २५ ठूला कम्पनीले आयकरसहित सरकारलाई ८३ अर्ब रुपैयाँ बुझाएका छन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा नाफा बढी हुँदा आयकर तिर्नेमा बैंक तथा वित्तीय संस्थाको संख्या बढी हुनु स्वाभाविक रहेको बताउँछन् ।

“नेपालमा बैंकिङ क्षेत्रको तुलनामा अन्य क्षेत्रको व्यवसाय फस्टाउन सकेको छैन,” शर्मा भन्छन्, “अरू क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र बढी नाफा कमाएसँगै आयकर पनि त्यही क्षेत्रले बढी तिरेको देखिन्छ ।”

आयकरतर्फ बढी कर बुझाउने कम्पनीमध्ये बैंकहरूको बर्चस्वले बढी आम्दानी गर्ने क्षेत्र बैंकिङ क्षेत्र भएको देखाएको छ । अघिल्लो वर्षमा भूकम्प र नाकाबन्दीको कारण आर्थिक वृद्धिदर ०।७७ प्रतिशतमा खुम्चदा बैंकहरूको बासलातमा भने यसको कुनै असर थिएन ।

गत आर्थिक वर्षमा १० वटा बैंक अर्ब नाफा गर्ने बैंकको सूचीमा थपिएका थिए । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमा १८ वटाको नाफा एक अर्ब कटाएको वित्तीय विवरण प्रकाशित गरेका छन् । अर्ब नकटाउने बैंकको नाफाको वृद्धिदर पनि बढी नै छ ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल अन्य क्षेत्रको तुलनामा नाफा बढी भएको कारण बैंकहरूले बढी आयकर तिर्नु स्वाभाविक भएको बताउँछन् ।

“बैंकहरूलाई लाग्ने करको सीमा पनि बढी छ । अन्य क्षेत्रलाई आयकर लगायतका क्षेत्रमा सुविधा भए पनि बैंकहरूलाई यस्तो सुविधा छैन,” पौडेलले भने ।

बैंकिङ क्षेत्रले कति नाफा गर्छ कति कर तिर्छ भन्ने हिसाब सबै पारदर्शी हुने पौडेल बताउँछन् । “बैंकिङ क्षेत्रको ब्यालेन्स सिट खुला छ तर त्यो बाध्यता अरू क्षेत्रलाई छैन त्यसैले आम्दानी पनि बढी देखिन्छ र कर पनि बढी नै तिरेका छन्,” पौडेलले भने । 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy