Ads

Sunday, August 21, 2016

नेपालकी पहिलो मुस्लिम ‘हिरोइन’

Posted By: Samsung - 7:24 AM
मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।
 
‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ।
 
ओशिमा बानु यस अर्थमा पृथक छिन्, जो नेपाली फिल्मक्षेत्रमा मुस्लिम समुदायबाटै पहिलो ‘हिरोइन’ का रूपमा भित्रिएकी छन्। यतिमात्र होइन, ओशिमा मोडल, फेसन तथा मोडलिङसम्बन्धी काम गर्ने संस्था ‘हाउस अफ फेसन’ की संस्थापकसमेत हुन्।
 
फिल्मक्षेत्रमा मुस्लिम महिलाको न्यून उपस्थिति रहेका बेला ओशिमाको प्रवेशलाई सुखद र गौरवको विषय मान्छिन्, अन्सारी। 
 
र, उनको सफलता र निरन्तरताको कामना पनि गर्छिन्।
 
पचास वर्षभन्दा लामो इतिहास बोकेको फिल्मक्षेत्रमा अहिलेसम्म कुनै पनि मुस्लिम महिला पर्दामा नअटाउनु आफैंमा सोचनीय विषय हो। उत्तिकै सोचनीय विषय हो, नेपाली फिल्मले मुस्लिम समुदायका कथालाई उतिसारो नसमेट्नु।
 
यस्तै बहस चलिरहेका बेला हसन खानको निर्माण तथा नारायण पुरी निर्देशक रहने ‘रोमियो’ नामक फिल्ममा ओशिमा नायिका बनेर अभिनय गर्दैछिन्।
 
ओशिमा फिल्ममा छानिएपछि मुस्लिम समुदायका थुप्रैले सकारात्मक कदम भन्दै बधाइ दिए। तर, सामाजिक सञ्जालमा मुस्लिम समुदायबाटै ओशिमाले नकारात्मक टिप्पणी पनि खेपिन्।
 
‘हेर मुस्लिम केटी भएर..., लाज छैन, दिमाग छैन? जस्ता कमेन्टहरू आए,’ ओशिमा भन्छिन्, ‘म यस्ता कुराको वास्ता गर्दिन।’
...
 
 
‘मुस्लिम महिला’ भन्नेबित्तिकै धेरैको मस्तिष्कमा बुर्काले ढाकिएको जुनखाले चित्र आउँछ, त्यो धेरै हदसम्म नेपाली समाजको यथार्थ पनि हो। यस्तो सामाजिक जकडबीच नेपाली मुस्लिम समुदायभित्र सानो भए पनि यस्तो वर्ग हुर्किंदैछ, जो मोडलिङ, फेसनजस्ता ‘ग्ल्यामरस’ दुनियाँमा सक्रिय छन। सुन्दरी प्रतियोगितामा भाग लिन्छन्। ‘ग्ल्यामरस’ तस्बिर खिचाउँछन्। यद्यपि, धर्मप्रति आस्था पनि उत्तिकै राख्छन्।
 
ओशिमा बानु यस्तै समूहकी युवती हुन्।
 
आफ्ना पुर्खा कहिलेदेखि काठमाडौं बस्न थाले, ओशिमालाई थाहा छैन। उनले देखेसम्मका उनका पुर्खा काठमाडौंकै रैथाने हुन्। त्यसैले काठमाडौंबाहिरका मुस्लिम समुदायको भन्दा अलि फरक भोगाइ रह्यो उनका बा/हजुरबाहरूको।
 
उनका बाबु मुस्लिम भए पनि आमा क्षत्री समुदायकी हुन्। बिहेपछि आमा मुस्लिम भइन्। हरेक बिहान अल्लाहको प्रार्थना गर्छिन् तर छोरीलाई प्रार्थना गर्नैपर्ने, हिजाब वा बुर्का लगाएर हिँड्नुपर्ने ‘उपदेश’ भने कहिल्यै दिइनन्। उनी यति मात्र भन्ने गर्छिन्, ‘राम्रो बाटोमा हिँड्नुपर्छ। त्यसो भयो भने कसैले केही भन्न सक्दैन।’
 
काठमाडौंको आधुनिक परिवेशमा हुर्किएका सबै मुस्लिम युवतीको अवस्था ओशिमाको जस्तो सहज छैन, ओशिमाको ‘अब्जर्भेसन’ले यसै भन्छ।
 
मोडलिङ, फेसन, अभिनय लगायत क्षेत्रमा लाग्ने सोच हुँदाहुँदै मनमा समाज र परिवारको डर पालेर आफ्नो इच्छा मार्ने थुप्रै मुस्लिम युवती उनले देखेकी छन्। उनका उमेरका साथीहरू त अहिले घरजम गरेर बच्चा हुर्काएर बसिरहेका छन्। काठमाडौंमै जन्मेहुर्केका युवतीको समेत १६/१७ वर्षमै बिहे हुने गरेको उनले देखेकी छन्। उनलाई पनि कसैकसैले भनेका रहेछन्, ‘बिहे गरेर थपक्क मुस्लिम तरिकाले बस।’
 
उनले कसैको कुरा सुनिनन्। ‘मनमा विश्वास लिएर अगाडि बढ्ने मात्र सोचेँ,’ उनले भनिन्, ‘मनको कुरा सुनेँ।’
 
सुरुमा उनको मनले मोडलिङको कुरा गरेको भने थिएन। उनी अनायासै ‘शोबिज’को दुनियाँमा आइपुगिन्।
 
केही वर्ष अस्ट्रेलिया बसेर फर्किएपछि उनले साडी व्यापारमा हात हालिन्। कसैले फेसबुकमा उनको फोटो देखेछन्। सुन्दर देखेपछि ‘भिभासिटी म्यागेजिन’का लागि फोटोसुटको प्रस्ताव गरेछन्। त्यतिबेलासम्म उनलाई मोडलिङ, फेसनका बारेमा उति ज्ञान थिएन। अस्ट्रेलिया बसेकीले ‘खुल्ला समाज’बारे थाहा भने थियो। उनले आफूलाई कहिल्यै ‘म मुस्लिम हुँ, मलाई यो गर्न वर्जित छ’ भन्ने ठानिनन्। बरु केही पत्रपत्रिकाका ‘ब्लोअप’ देखेकाले फोटोसुटप्रति उनको धारणा त्यति सकारात्मक थिएन। तर, ‘भिभासिटी म्यागेजिन’ को फोटोसुट उनले देखिरहेका ब्लोअपभन्दा ‘सालिन’ हुने भएपछि बाबुआमासँग सोधिन्।
 
बाबुले अनुमति दिए। आमाले उही कुरा दोहोर्याइन्, जुन उनले पहिलेदेखि नै भन्दै आएकी थिइन्, ‘राम्रो बाटोमा हिँड्नुपर्छ। त्यसो भयो भने कसैले केही भन्न सक्दैन।’
 
‘मलाई खुसी लागेको काम, अनि परिवारको सपोर्ट। त्यति भए पुगिहाल्यो। अरूले के भन्लान् भन्ने मतलबै भएन,’ उनले भनिन्।
 
फोटोसुट भयो। उनलाई विस्तारै मोडलिङको चस्का पस्यो।
 
सन् २०१२ को कुरा हो, उनले ‘फेस अफ क्लासिक डायमन्ड’ मा भाग लिइन् र विजेता बनिन्। उनलाई मिस नेपालमा पनि भाग लिने रहर जाग्यो। एक वर्षपछि मिस नेपालमा पनि भाग लिइन् र टप टेनसम्म पुगिन्।
 
यी दुई प्रतियोगितामा भाग लिने क्रममा अन्य सहभागीहरूसँग उनको परिचय हुन्थ्यो। जब उनी आफ्नो पूरै नाम भन्थिन्, सबै चकित भावमा भन्थे, ‘मुस्लिम पनि यस्तो ओपन?’
 
यसबीच उनी आफैंले मोडलिङसम्बन्धि काम गर्ने ‘हाउस अफ फेसन’ पनि खोलिसकेकी थिइन्। जहाँबाट उनी फेसनसम्बन्धी कार्यक्रम आयोजना गर्नुका साथै सुन्दरी प्रतियोगिता पनि चलाउँछिन्। बजारमा आएका पछिल्ला फेसनका कपडा बिक्रीवितरण पनि गर्छिन्।
 
धर्मकै कारण कुनै उल्झन नब्यहोरी करिब सात वर्षभन्दा बढी समयदेखि मोडलिङ यात्रामा रहेकी ओशिमाले मोडलिङमा लागेका मुस्लिम समुदायका महिला विरलै भेटेकी छन्। ‘बाहिर हामीजत्तिकै खुल्ला भएर हिँड्नेहरू छन् तर मोडलिङ, फेसनमा फाट्टफुट्ट मात्रै छन्,’ उनले भनिन्।
 
उनको अनुमानमा परिवार, समाज र धर्मकै कारण मुस्लिम युवतीहरू ग्ल्यामरस दुनियाँमा आउन सक्दैनन्।
 
त्यसो त जति नै खुला भएर हिँडे पनि उनको मनमा बेला–बेला डर पलाउँदो रहेछ। परिवार नै आफ्नो कामदेखि खुसी छन् भने समाजको डर उनलाई छैन। डर रहेछ, ‘अल्लाह’को। उनी भगवान र अदृश्य शक्तिप्रति विश्वास राख्छिन्।
 
दिनहुँ प्रार्थना नगर्दा, आम–मुस्लिम महिलाजस्तो हिजाब वा बुर्का नलगाउँदा बेला–बेला ‘अल्लाह’ को डर लाग्ने उनको भनाइ छ। मनमा यस्तो सोच आएको बेला आफूलाई सम्हाल्ने उनको आफ्नै सूत्र छ, ‘मैले मान्छे त मारेको होइन, त्यसो भने के पाप?’
 
***
ओशिमालाई आफू मुस्लिम समुदायबाट पहिलो नेपाली ‘हिरोइन’ भएकोमा त्यति गर्व लाग्दैन! 
 
‘को मुस्लिम, को क्रिश्चियनभन्दा पनि उसको खुबीको प्रशंसा गर्नुपर्छ,’ उनले भनिन्, ‘म आफ्नो धार्मिक पृष्ठभूमि होइन, कामसँग मात्र मतलब राख्छु र मलाई पनि मेरो कामकै आधारमा मूल्यांकन गरियोस् भन्ने चाहन्छु।’
 
हुन त मुस्लिम समुदायमा मात्र होइन, नेपालका नगन्य महिलाले आफूले रोजेको काम गर्न पाएका छन्। ओशिमा मुस्लिम समुदायभित्र औंलामा गन्न सकिने युवतीमध्ये पर्छिन्, जसले आफूले रोजेको काम गर्न पाएकी छन्।
 
ओशिमाले पाएको मौकामा खुसी हुँदै मानवअधिकारकर्मी मोहना अन्सारी भन्छिन्, ‘मुस्लिम महिलाहरूको अवस्था पनि ठाउँअनुसार फरक छ। काठमाडौंका मुस्लिम महिला अलि बढी स्वतन्त्र छन्। ओशिमा बहिनीले जुन मौका पाएकी छन्, त्यो एकदमै खुसीको कुरा हो। फिल्मक्षेत्र पनि एउटा राम्रो व्यावसायिक क्षेत्र हो, जहाँ हरेक तह–तप्काका मान्छेको उपस्थिति र अभिव्यक्ति आवश्यक छ। अब उनको निरन्तरताले पनि अर्थ राख्छ।’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy